काठमाडौं, ११ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार राजनीतिक समस्याहरूलाई वार्ता र सम्वादबाट टुङ्गो लगाउनुको साटो प्रधानमन्त्री केपी ओली मन्त्रालय विभाजन गरेर आफ्नो आयु बढाउने खेलमा सक्रिय रहेको आरोप लगाएको छ ।
मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले आज बिहान दैनिक नेपाल डटकमसँग कुरागर्दै सरकारको पहिलो प्राथमिकता वार्ता र सम्वाद हुनुपर्नेमा मन्त्रालय विभाजन गरेर गलत दिशामा गइरहेको बताउनुभयो ।
‘सरकारले मधेसी मोर्चा र आन्दोलनरत समूहसँग वार्ता गर्नुपर्ने हो’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली जनतालाई राहत दिनेभन्दा पनि मन्त्रालय विभाजन गरेर मन्त्री थप्ने कार्यमा सक्रिय हुनुभएको छ । यो मुलुकको लागि दुर्भाग्य हो ।’
तराई, मधेस र भूकम्प क्षेत्रका जनताले दैनिक रुपमा कष्टकरण जीवन विताउनुपर्ने बाध्यता आइरहेको भन्दै महासचिव सुमनले छिटो राजनीतिक रुपमा समस्याको सधान खोज्न आग्रह गर्नुभयो ।
सरकार कालोबजारी र भ्रष्टाचारलाई संस्थागत गर्न लागेको महासचिव सुमनको आरोप छ । ‘भारतबाट दैनिक रुपमा इन्धन आइरहेको छ’, उहाँले भन्नुभयो, ‘सबै इन्धन कालोबजारीमा बिक्री हुने गरेको छ । त्यो पैसा सत्तारुढ दलका ठूला नेता र मन्त्रिपरिषद्का सदस्यहरूसम्म पुग्ने गरेको थाहा पाएका छौँ ।’
प्रधानमन्त्री ओलीले शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकबाट थप मन्त्रालय विभाजन गरेपछि मधेसी मोर्चाले बिरोध गरेको हो ।












प्रतिक्रिया