
काठमाडौं, १० पुस । सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पाल्पाका ज्ञवालीलाई प्राधिकरणको सीइओ नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
खुल्ला प्रतिस्पर्धाबाट नगर विकास कोषको कार्यकारी निर्देशक बनेका ज्ञवालीलाई डेढ वर्ष कार्यकाल बाँकी छँदै प्राधिकरणको सीईओ बनाइएको हो । स्थानीय निकायमा २० वर्षे अनुभव बटुलेका ज्ञवाली इञ्जिनियर हुन् ।
यसअघि कांग्रेस नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगका निवर्तमान उपाध्यक्ष गोविन्द पोखरेललाई सिइओ नियुक्त गरेको थियो । नयाँ सरकार गठन भएसँगै प्राधिकरण सिइओमा ज्ञवाली नियुक्त भएका हुन् ।
केही दिन अगाडि मात्रै पुनर्निर्माण विधेयक संसदबाट पारित भएको थियो । भूकम्प पीडितको राहत तथा पूनस्र्थापनाका लागि गठन गरिएको प्राधिकरणले अब ‘फास्ट ट्रयाक’मा काम गर्नेछ ।
योजना आयोगका सात सदस्य नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगलाई पनि पूर्णता दिएको छ । मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा डा सुमित्रा अमात्य, डा रामानन्द देव, डा चन्द्रकान्त पौडेल, डा सुनीलबाबु श्रेष्ठ, डा गीतानन्द जोशी, डा कृपासुन्दर प्रसाद, विजयबहादुर कुँवरलाई नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए । आयोगको उपाध्यक्षमा यस अघि डा युवराज खतिवडा नियुक्त भइसकेका छन् ।












प्रतिक्रिया