भक्तपुर, ९ पुस । सहरी क्षेत्रमा विद्युत् चुहावट बढेपछि प्राधिकरणले चुहावट नियन्त्रण गर्ने अभियान सुरु गरेको छ ।
प्राधिकरण भक्तपुरका प्रमुख विक्रम अमात्यले भक्तपुर नगरक्षेत्र र बाक्लो बस्ती भएका क्षेत्रमा चुहावट बढेपछि त्यस्ता क्षेत्रको पहिचान गर्दै चुहावट नियन्त्रण अभियान नै सुरु गरिएको बताउनुभयो ।
यसैगरी इन्धन अभावका कारण विद्युत् खपत अत्यधिक बढेपछि भार धान्न नसक्दा जिल्लामा ४७ ट्रान्सफर्मर जलेको छ । प्राधिकरण भक्तपुर अन्तर्गतका क्षेत्रमा गत साउनयता ३२ ट्रान्सफर्मर तथा ठिमी शाखाका क्षेत्रमा १५ ट्रान्सफर्मर जलेका छन् ।
भारतले नाकाबन्दी गरेपछि असोजयता मात्रै भक्तपुर शाखा क्षेत्रमा १९ वटा ट्रान्सफर्मर जलेको छ । भक्तपुर शाखामा सबभन्दा धेरै मङ्सिरमा १० वटा र पुसको हालसम्म चार ट्रान्सफर्मर जलेको छ ।
विशेषगरी साँझको समयमा उपभोक्ताले बढी विद्युत् खपत गर्दा ट्रान्सफर्मर र कालो तार जल्न थालेपछि विद्युत्भार कटौतीबाहेक अतिरिक्त समयमा पनि विद्युत् नआउने हुँदा विद्युत् माग गर्दै उनीहरु धर्ना दिन थालेका छन् । रासस














प्रतिक्रिया