काठमाडौं, ८ पुस । एमाओवादीले ‘नयाँ शक्ति’भन्दै पार्टीविरुद्ध गतिविधि गरेका स्थायी समिति सदस्य देवेन्द्र पौडेलसहितका दुई दर्जन नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्काशन गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेताहरू रामचन्द्र झा, गङ्गानारायण श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमी, रामकुमार शर्मालगायत २२ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
यस्तै, संविधानमा समेत हस्ताक्षर नरेका र पार्टीको बैठकमा समेत भाग लिन आनाकानी गर्दै आएका पोलिटब्यूरो सदस्य प्रभु साहलाई अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय एमाओवादीले गरेको छ ।
‘पटक–पटक सोधिएको स्पष्टीकरणको जवाफ साहले नदिनु भएको अवस्थामा उहाँलाई पुनः अन्तिम पटक स्पष्टीकरण लिने निर्णय भएको छ’, प्रवक्ता शर्माले भन्नुभयो ।
यस्तै, बैठकले थारू, आदिवासी तथा जनजाति समुदायबाट केही नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेको छ । ती समुदायको भावना र चाहनालाई सम्बोधन गर्न पनि केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको प्रवक्ता शर्माको भनाइ छ ।












प्रतिक्रिया