इटहरी, ७ पुस । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले केहि ठालुहरुले भनेका भरमा सीमाङ्कन हेरफेर नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल सुनसरीले आज विहान इटहरीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महासचिव पोखरेलले को कहाँ बस्ने हो त्यो अधिकार जनतालाई भएको बताउनुभयो । उहाँले सर्लाहीका केहि ठालुले भनेको भरमा कुन क्षेत्रलाई कुन प्रदेशमा सार्ने काम नहुने दावी गर्नुभयो । उहाले भन्नुभयो– ‘सीमाङकन बद्लिनै नसक्ने हैन् । अभ्यास, अनुभव र औचित्यका आधारमा बदल्न सकिन्छ । तर केहि ठालुहरुले भन्दैमा परिवर्तन हुँदैन् ।’
महासचिव पोखरेलले देशको स्वाभिमान बचाउँन आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नाराले मात्र स्वाभिमान नबस्ने भन्दै आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । नीति, योजना, कार्यक्रम र आचरणमा आत्मनिर्भर हुनुपर्ने उहाँको भनाई छ । सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुमा आत्मनिर्भरता देखाउनुपर्ने उहाँको धारणा छ ।
संविधानले कसैलाई भेदभाव नगरेको बताउँदै महासचिव पोखरलेलले संविधानको विषयमा मधेशमा भ्रम फैलाएको आरोप लगाउनुभयो । त्यो भ्रम चिर्न एमालेले तीन महिने अभियान सुरु गरेको उहाँको भनाई छ ।
एमाले सुनसरीको दोस्रो जिल्ला परिषदका लागि आउनुभएका महासचिव पोखरेलले अहिलेको संक्रमणकालिन असहतालाई चिर्दै जनतालाई राहात दिन सरकारले विषेश कार्यक्रम ल्याउनुपर्ने उहाको भनाइ थियो ।













प्रतिक्रिया