काठमाडौ, ६ पुस । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आईतवार मन्त्रिपरिषदले मधेसको समस्या समाधानको लागि भन्दै गरेको चार बुँदे निर्णयले निकास ननिस्कने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले मधेसको समस्या प्याकेजमै समाधान हुनुपर्ने भन्दै तीन महिनाभित्र सीमांकन गर्ने कुरा कुनै पनि हालतमा मान्य नहुने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा अध्यक्ष यादवले अघिल्लो सरकारले गरेको घाईतेको निशुल्क उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र झुठा मुद्दा खारेज गर्ने लगायतका निर्णय अहिलेसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा अहिलेको सरकारको निर्णयलाई विश्वास गर्न नसकिने भन्दै आफूहरुको सरोकार सरकारको चार बुँदे भन्दा ११ बुँदेमा भएको स्पष्ट पारे ।
सोमबार विहान भारतीय राजदूतसँगको भेटवार्ताको प्रसंगमा उनले एउटा छिमेकीको समस्यामा अर्को छिमेकीको चासो स्वभाविक भएको भन्दै भारतीय राजदूतले मन्त्रिपरिषदको निर्णयको विषयमा धारणा मागेको र आफूहरुले त्यसबाट समस्या समाधान हुँदैन भनेर भनेको जानकारी दिए ।
अध्यक्ष यादवले भने– ‘भारतको हामीलाई कुनै दवाव छैन । उहाँहरु पनि समाधान छिटो होस भन्ने चाहनु हुन्छ । उहाँले सरकारसँग पनि आफूले यो विषयमा कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्रीसँग कुरा गरिपनि सक्नु भएको छ ।’
जानकी मन्दीरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको घटना प्रति दुख ब्यक्त गर्दैै त्यहाँको अवस्था ठिक छैन भन्ने जानकारी हुँदा हुँदै जानु उचित नभएको तर्क गरे ।
उनले जनकपुर घटनामा आफूहरुको संलग्नता नरहेको स्पष्ट पार्दै जुत्तासहित कुकुर लिएर मन्दीर प्रवेश गरेको विषयले घटना गराएको दावी गरे । उनले भने– ‘मन्दीर जो सुकै पनि जान सक्छ । जे नहुनु थियो भयो, यो दुखद घटना हो ।’
यादवले सरकार साम्प्रदायिकता फैलाउने योजनामा लागेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।
उनले आफूहरु सार्थक र परिणाममुखि बार्ताको पक्षमा रहेको भन्दै बार्ता कहाँ गर्ने भन्ने विषय समस्याको रुपमा नआउने स्पष्ट पारे ।













प्रतिक्रिया