काठमाडौँ, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनुभएको छ ।
नेकपा (एमाले)प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताउनुभयो ।
“स्वार्थपूर्तिका लागि केही मानिसले देशलाई बन्धक बनाउन हुन्न, जायज माग सबैका पूरा हुन्छन्, अनुचित माग जोसुकैको पनि पूरा हुन सक्दैन, सभ्य रुपमा माग राख्न सकिन्छ, मागका नाममा गैरजिम्मेवार असभ्य व्यवहार प्रदर्शन गर्नेलाई सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।
तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सङ्लिने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको थियो । आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन पल्केकाहरुले वातावरण सप्रिन नदिने प्रयत्न गरेको सूचना आफूले पाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
“संविधासभाबाट जारी भएको संविधानले नेपाली नागरिकले विवाह गरेकी भारतीय छोरीले अङ्गीकृत नागरिकता पाउने व्यवस्था हटाइएको भनी तराई क्षेत्रमा दुष्प्रचार गरिएको रहेछ, असोज ३ पछि आजसम्म ५९६ महिलाले अङ्गीकृत नागरिकता पाएका छन्,” उहाँले भन्नुभयो । रासस












प्रतिक्रिया