३० आश्विन २०८३, शुक्रबार

संस्थागत रुपमा तस्करी बढेकोप्रति उद्योग वाणिज्य महासङ्घको चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNCCI President Delivers Remarks

काठमाडौँ, ३ पुस । तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको सबै क्षेत्र चौपट भई संस्थागत रुपमा तस्करी हुन थालेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरी भारतीय सीमा क्षेत्रमा जबर्जस्ती रुपमा अनौपचारिक व्यापार फस्टाएको र त्यसले मुलुकको समग्र अर्थतन्त्रमा नै असर पार्ने खतरा रहेकोतर्फ सतर्क हुनुपर्ने बताएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्नुभयो – “पेट्रोल पम्पमा ताला लागेका छन्, बाटोमा ट्राफिक जाम भएको छ, ग्यासका बुलेट भित्रिएका छन् तर औपचारिक प्रणालीबाट जनतामा पुग्न सकेको छैन ।” समानान्तर रुपमा अनौपचारिक व्यापार विस्तार हुँदै गएको बताउँदै उहाँले यस्तो कार्यले निरन्तरता पाउने हो भने देशको अर्थतन्त्र र उद्योगधन्दा सखाप हुने भएकाले त्यसतर्फ सरकार एवम् राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभयो ।

अध्यक्ष मुरारकाका अनुसार विभिन्न स्थानमा निरन्तर जारी अवरोध, कच्चा पदार्थ र इन्धनको चरम अभाव, विद्युत्भार कटौती, औद्योगिक करिडोरमा शान्ति सुरक्षाको खराव अवस्थाका कारण उत्पादन लागत बढ्न गएको छ । ढुवानीमा भएको समस्या र भारतमा तिर्नुपर्ने विलम्ब शुल्कका कारण उद्योगी तथा व्यापारीको लागत बढ्न गएको छ । व्यापारी तथा उद्योगीले लागत मूल्यमा मालसामान बजारमा लैजान पाउनुपर्ने उहाँको भनाइ थियो ।

महासङ्घकाअनुसार तराईमा दुई हजार कलकारखाना बन्द भएका छन् । नाकाबन्दीका कारण अर्बौंको सामान सीमापारि रोकिएको छ । कतिपय कच्चा पदार्थ र खाद्य सामग्री नष्ट हुने अवस्थामा पुगेको छ । बन्द हडतालका कारण नाकाबन्दीबाट रु दुई खर्बभन्दा बढीको नोक्सानी भइसकेको छ । रासस