काठमाडौँ, २४ असार । नेकपा एमालेका उपाध्यक्ष एवम् कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने कमाण्डर, सहकमाण्डर, फौज सबै आफुसँग भएको दाबी गर्नुभएको छ ।
उहाँले एमालेको जारी महाधिवेशनको बन्दशत्र हल परिसरमा रहेको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गर्नुभएको हो । केही सहकमाण्डर अन्तै लागे पनि सिंगो फौज र जवान आफुसितै भएको भन्दै उहाँले नवौँ महाधिवेशनबाट नेता केपी शर्मा ओली अध्यक्ष बन्ने तर्क गर्नुभयो ।
उहाँले अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपाललाई सघाएको भन्ने भनाई तथ्यहिन भएको पनि तर्क गर्नुभयो । ‘अध्यक्ष खनालको मुख्य कमाण्डर नै म हुँ,’ मैले ओलीलाई सघाएपछि अरु केही सहकमाण्डरले कता सघाए भन्नेको कुनै अर्थ हुँदैन ।’
गौतमले नेता खनाललाई महासचिव र अध्यक्ष बनाउने बेलामा पनि आफुले ओली र नेपालबीच विवाद सिर्जना गरेर खनालकै पक्षमा माहोल ल्याएको खुलासा गर्नुभयो । ‘त्यसैले खनालको पक्षमा म जत्तिको उभिएको कोही छैन,’ उहाँले भन्नुभयो, ‘उहाँको पक्षमा मसहितको फौज थियो, केही सहकमाण्डर अन्तै लागे पनि सिंगो फौज र जवान मसितै छ ।’
















प्रतिक्रिया