सप्तरी, २३ असार । बढ्दो गर्मीसँगै केही सातायता सप्तरीमा भाइरल ज्वरो र टाइफाइडको प्रकोप फैलिएको छ ।
केही दिनयता दिनभरी चर्काेघाम लाग्ने र रातको समयमा वर्षा हुने गरेकाले भाइरल ज्वरो र टाइफाइडको प्रकोप फैलिएको हो । भाइरल ज्वरो र टाइफाइडको प्रकोपका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ ।
बिगत दुई साताको अबधिमा तीन जना भन्दा बढी टाइफाइड र भाइरल ज्वरोका बिरामी उपचार गराई घर फर्केको सगरमाथा अञ्चल अस्पताल राजविराजका इमेरजेन्सी वार्डका रामकुमार दियालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अचेल दैनिक ३०/४० जना भाइरल ज्वरो र टाइफाइडका बिरामी उपचारका लागि आउने गरेका छन् । अञ्चल अस्पताल बाहेक सदरमुकाम राजविराजस्थित विभिन्न चिकित्सकहरुको निजी क्लिनिकका साथै जिल्लाको ग्रामीण भेगका स्वास्थ्य संस्था निजी क्लिनिकहरुमा समेत भाइरल ज्वरो र टाइफाइडका बिरामीको चाप बढ्ेका छन् ।
छिटोछिटो मौसममा आउने परिवर्तन र खानपानमा सजकता नअपनाउँदा भाइरल ज्वरो र टाइफाइडको प्रकोप बढेको चिकित्सकहरु बताउनुहुन्छ । दैनिक जसो अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शैयाको अभाव भएको छ ।
बिरामीको चाप बढेपछि भूइँमै बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका चिकित्सकहरुको कथन छ । सप्तरीसहित सिरहा, उदयपुर र भारतका बिभिन्न गाउँबाट समेत बिरामीहरु अञ्चल अस्पतालमा आउने गरेकाले अस्पतालमा शैयाको अभाव हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेश झाले बताउनुभयो ।
















प्रतिक्रिया