२३ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता भन्छन्, ‘हाम्रो पार्टीले संसद अबरोध गरेकै होइन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan Mahatकाठमाडौं, २७ मंसिर । मधेसी मोर्चा र नेपाली कांग्रेसले संसद बैठक अबरोध भएर गतिरोध आइरहेका बेला कांग्रेसकै एक केन्द्रीय सदस्यले आफ्नो पार्टीले सदन अबरोध नगरेको दाबी गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले आफूहरूले संसदीय प्रक्रियाअनुसार सदनमा सरकार र सभामुखको जवाफ माग गरेको बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज (आइतबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै भन्नुभयो, ‘संसद बैठक हामीले अबरोध गरेको होइन । सरकारले अबरोध भएको संसद चलाउनु पर्छ । त्यसका लागि राजनीतिक पहल गर्नुपर्छ ।’ उहाँले सदन अबरोध गरेको नभइ संसदीय प्रक्रियाअनुसार कांग्रेसले जिज्ञासा राखेको उल्लेख गर्नुभयो ।

उहाँले संसदको कार्यसूचीमा रहेको संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषय हटाइएपछि त्यसको जानकारी कांग्रेसले माग गरेको बताउनुभयो । ‘कार्यसूचीमा रहेको संशोधनको विषय किन हटाइयो भनेर संसदमा सोधेको मात्रै हो’, कांग्रेस नेता महतले भन्नुभयो, ‘हामीले संसद अबरोध गरेका छैनौ । संसदीय प्रक्रियाबाट अगाडि बढेका हौँ ।’

कांग्रेस नेता महतले प्रधानमन्त्री जस्तो व्यक्तिले प्रमुख विपक्षी दलले सदन अबरोध गरेको भनेर सहि कुरा नगरेको आरोप लगाउनुभयो ।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले सहि कुरो गर्नुपर्छ । इमान्दार बन्नु पर्छ’, उहाँले भन्नुभयो, ‘हामीले भूकम्प प्राधिकरण विधेयक अबरोध गरेको होइनौँ । संविधान संशोधनको विधेयकको कार्यसूची कता गयो भनेर सोधेका हौँ ?’

कांग्रेसको सरकारका पालमा अगाडि सारिएको संविधान संशोधनको प्रस्तावमा कसैलाई चित्त नबुझेको भए त्यसमा छलफल गर्न सकिने केन्द्रीय सदस्य महतको भनाइ छ । उहाँले मधेसी मोर्चालाई सकारात्मक रुपमा छलफलमा आउन पनि आग्रह गर्नुभएको छ ।