काठमाडौं, २७ मंसिर । यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् । यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कम अंक ल्याए रोजेको पढ्न नपाउने
सबैले प्लस टुमा भर्ना पाउने भए पनि कमजोर नतिजा ल्याउनेले रोजेको ‘स्ट्रिम’मा जान भने पाउने छैनन् । उच्च माध्यमिक शिक्षा परिषद्का सदस्यसचिव नारायण कोइरालाले भर्ना हुन कसैलाई नरोक्ने, तर भर्नाका लागि आधार तय गरिने बताए ।
परिषद्ले पाठ्यक्रम, पाठ्यपुस्तकलगायत विषयमा अध्ययन गर्न शिक्षाविद् प्रा। मनप्रसाद वाग्ले, प्रा। वासुदेव काफ्लेसहित चारजनाको प्राविधिक कमिटी बनाएको छ ।
कमिटीले प्रतिवेदन बुझाएपछि औपचारिक रूपमा निर्णय गरिने सदस्यसचिव कोइरालाले बताए । एसएलसीमा कमजोर नतिजा भएकालाई सफ्ट स्किलका कार्यक्रममा भर्ना हुने व्यवस्था गर्ने तयारी हुँदै छ ।
त्यस्ता विद्यार्थीलाई होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजमजस्ता क्षेत्रमा अध्ययनका लागि बाटो खुला गर्न सकिने कोइरालाको भनाइ छ ।
कोइरालाले भने, ‘कक्षा ११ र १२ मा कस्ता विद्यार्थीले कुन विषय पढ्न पाउने भन्ने विषयमा पुस मसान्तसम्ममा आधार निर्धारण गर्छौँ ।’ विज्ञानलगायतका ‘स्ट्रिम’ विषय पढ्नका लागि इन्ट्रान्सलगायतको व्यवस्था हुने उनको भनाइ छ ।
प्रमाणपत्रमा ग्रेड उल्लेख हुने
प्रमाणपत्र तथा लब्धांकपत्रमा उत्तीर्ण–अनुत्तीर्णको व्यवस्था रहनेछैन । सोको सट्टा समग्र ग्रेड दिइनेछ । यस्तो ग्रेड विषयगत तथा समग्र दुवै हुने व्यवस्था छ ।
विद्यार्थीले प्राप्त गरेको ग्रेडको व्याख्या लब्धांकपत्रमा उल्लेख गरिनेछ । डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुन: मूल्यांकन गराउन चाहे माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णयबमोजिम हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउनेछन् ।
तर, दुई विषयभन्दा बढी विषयमा डी र डीभन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले त्यस्तो अवसर पाउने छैनन् । बरु उनीहरू आगामी वर्षको मूल परीक्षामा सहभागी हुन पाउनेछन् ।
यसरी मूल्यांकन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धांकपत्र दिने व्यवस्था गरिनेछ । विद्यालय शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्बाट स्वीकृत भइसकेको छ ।















प्रतिक्रिया