विनोद ढकाल
एसएलसीपूर्व हुने टेस्ट परिक्षामा फेल भएपछि जीवनको फरक पाटो खोज्दै गाउँबाट राजधानी काठमाडौं छिर्ने कम छैनन् । काठमाडौंमा सफल नभए खाडीतिर छिर्नेको लर्को अहिले पनि उस्तै लामो देखिन्छ । तर, निक्कै कममात्र त्यस्ता हुन्छन् जो जीवनमा आँसुलाई एउटा परेलीमा लुकाउँछन् र संघर्षसहितको लडाकू छवीलाई अर्को आँखामा तेज बनाउँछन् । २०२३ सालमा मकवानपुरको नामटारमा जन्मिएका जनक बर्तौला हेर्दै लडाकूजस्ता देखिन्छन् । धेरैले उनको नाम पार्टीभित्रैका नेतालाई धम्की दिने, लड्ने व्यवाहारका कारण सुनेका छन् । झट्ट हेर्दा उनी त्यस्तै देखिन्छन् पनि । ९ वर्षको उमेरदेखि नै कम्युनिष्ट पार्टीमा झुकाव राखेका बर्तौला कालिका माध्यमिक विद्यालय नामटारमा टेष्ट फेल भएपछि राजधानी छिरे । त्यसअघि उनी सोही विद्यालयमा विद्यार्थीका नेता भइसकेका थिए ।
बाबुराममाथि आफुले कुर्सी हानेको तर उनलाई नलागेको स्मरण गर्दै उनले भने,‘लडाकु साथीहरुले त गोली ठोक्नुपर्छ भनेका थिए तर हामी संयमित भयौं । भारतका चाकडीबाजविरुद्ध धेरै अघि नै कारवाही हुनुपर्छ भनिएको थियो ।’
आन्दोलन र झडपमा सँधै अगाडी देखिने उनी एमाओवादी मजदुर संगठनका नेता हुन् । उनले खुलामञ्चमा प्रचण्डको धाप पाएका थिए र निरन्तर पार्टीमा सक्रिय पनि छन् । आन्दोलनकै दौरानमा उनको टाउकोमा ९ टाँका लाग्नेगरी प्रहरीले हानेको लाठ्ठीको चोट अहिले पनि छ । उनी अहिले केही सफल छन्, केही ठाउँमा संघर्षको यात्रामा नै छन् । तर, आफ्नै अडान र संघर्षले उभिएका उनी जीवनको सफलताको जस र असफलताको अपजसको भागीदार आफैं ठान्छन् ।
संघर्ष र यात्रा
सानो सफलताको टाकुरामा उभिएर अतितलाई नियाल्ने हो भने मान्छे भावुक हुँदै जान्छन् । यस्तै भावुक भएका बर्तौला सम्झिन्छन्,‘एक छाक खान पाइन, काठमाडौं छिरेपछि कुसुन्तीमा च्युरा खाएर ढुंगा बोक्ने काम गरें ।’ सानातिना त्यस्ता दैनिकी धेरै थिए र उनी भावुक भए । उनका आँखाबाट विरलै आँसु झर्लान् तर संघर्षको किताब पल्टाउँछन् सुरुका दिनहरु उनका आँखामा पानी बनेर आइहाल्छन् ।
उनी कराँतेका ‘व्ल्याक बेल्ट’ हुन् । ०४७ तिर नै पाटन औधोगिक क्षेत्रमा फलाम पिट्ने काम एकातिर गरिरहेका उनले कराँतेको कक्षा पनि त्यसैबेला लिएका थिए । तत्कालिन कराँते गुरु रामजी बज्राचार्यलाई सम्झिने बर्तौलाको मजदुरी जीवन मासिक ५ सय रुपियाँमा ढुंगा बोकेदेखि गलैंचा उद्योगमा ११ सय रुपियाँमा तीन वर्षसम्म काम गर्दादेखि सुरु भएको थियो । उनी भन्छन्,‘५ सय रुपियाँ बोकेर दशैंको समयमा घर पुगेको थिएँ । त्यो विगतलाई अहिलेसम्म मैले कहिँ कतै भनेको छैन ।’ न शिक्षा राम्रो थियो न बोल्ने ढंग नै । तर, काठमाडौंमा बाँच्नुपर्ने बाध्यतालाई बर्तौलाले झेल्नु नै थियो । मकवानपुरमा बस्न सक्तैन थिए, काठमाडौंमा एक्लो थिए । तर, उनी संघर्षको मैदानमा चुकेनन् । लक्ष्यहिन यात्रामा उनी फेरि काठमाडौं छिरे र सुरु गरे सेक्युरिटी गार्डको जागिर । ‘ज्यान परेको थियो, कराँते पनि सिकेको थिएँ अनि ग्रुप फोर सेक्युरिटी सानेपामा जागिर खोज्दै पुगें, उनीहरुले मलाई राखे ।’, उनी विगत कोट्याउँछन्,‘त्यहाँ पनि केही वर्ष काम गरें ।’ ज्यान परेको र डरलाग्दो शारिरीक बनोटका कारण बर्तौलाका लागि हुलमुलमा बोल्नु साहसीक काम थिएन । त्यसकारण पनि उनी विनाकाम ६÷७ वर्ष काठमाडौंमा सामान्य लफडा मिलाउनेतिर पनि अग्रसर भए । उनी थप्छन्,‘त्यति समय त म हल्लिएरै बाँचेको थिएँ ।’
बर्तौलाको मजदुर राजनीति र फरक यात्राचाहीँ ०५९ सालमा हायात रिजेन्सी होटलको सेक्युरिटी गार्डको जागिर पाएपछि सुरु भयो । उनले त्यहाँ सेक्युरिटीको जागिर त गरिनै रहेका थिए, अर्कोतिर होटल र क्यासिनोमा तमासा देखाउने टोलेगुन्डा तह लगाउने जिम्मेबारी पनि लिए । ‘त्यसताका बौद्धलगायतका कति ठाउँका गुन्डाहरुलाई मैले पिटें, हिसाव नै छैन । म त्यहाँको क्यासिनोमा लफडा गर्नेहरुका लागि ठूलो चुनौति बनिसकेको थिएँ । मान्छे पिट्न म डराइन । म त्यहाँ माधव राणा नामका म्यानेजरमार्फत पुगेको थिएँ ।’
झन्डै ४ वर्षसम्म उनले गुन्डा तह लगाउने कामपनि गरे । त्यसबेलासम्म मुलुकमा लोकतान्त्रिक आन्दोलन सफल भइसकेको थियो र जंगलबाट क्रान्ति सफल भएको घोषणा गरी तत्कालिन नेकपा माओवादी संगठन विस्तारका क्रममा सहर छिरिसकेको थियो । अलि अलि क्रान्तिकारी पृष्ठभूमी र मजदुर आन्दोलनमा सहभागीता जनाइसकेका बर्तौला माओवादीकै राजनीतिमा छिरे, अखिल नेपाल होटल मजदुरको सदस्यतासँगै । ‘म हायात होटलकै मजदुर संगठनको उपाध्यक्षमा निर्वाचित भएँ ।’ उनले मजदुर संगठनलाई जहिले पनि माया गरे । उनीसँग विवेक भन्दा ज्यादा बल थियो र त्यही बलशाली छविकै कारण पनि धेरै संघसंस्थामा आवद्ध भए । अन्याय सहन नसक्ने बर्तौला उसु संघको उपाध्यक्ष त बने नै अखिल नेपाल वैदेशिक रोजगार पीडित संघको केन्द्रिय अध्यक्ष पनि भए । र, अखिल नेपाल खेलकुद संघको उपाध्यक्षमा पनि निर्वाचित भए ।
मलाई बन्दुक तेर्साए, मैले थप्पड हानें
एमाओवादीको मजदुर संगठनमा रहेर आफ्नै तत्कालिन उपाध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध खरो रुपमा प्रस्तुत हुन्छन् बर्तौला । उनी भट्टराई मजदुरमारा र अवसरवादी नेताका रुपमा व्याख्या गर्छन् । उनले थपे,‘न मजदुरका हकमा काम गरे न पार्टीको हकमा । उनले जहिले पनि बार्गेनिङमात्र गरे । मजदुर नेतालाई सिध्याउनका लागि निर्देशन दिए ।’ मजदुर नेता शालिकराम जम्मकट्टेलमाथि आक्रमण गराउने काम बाबुरामले नै गरेको उनले खुलासा गरेका छन् । ‘केही आफ्ना चम्चा (रमेश पन्त)हरुको कुरा सुनेर उनले शालिकराम जम्मकट्टेलमाथि आक्रमण गराएका थिए ।’, उनले थपे,‘त्यहि आक्रोश हो, उनीविरुद्ध आम मजदुरहरु अहिले पनि कुरा गर्न डराउँदैनन् ।’
मजदुरहरुमाथि अत्याचार गराउनका लागि हरियो वत्ति बालिदिने बाबुरामलाई पेरिसडाँडामा आफुले मार्छु नभनेको प्रष्टोक्ति दिँदै उनले थपे,‘मैले मजदुरलाई हेप्ने र पीडा दिने कसैलाई पनि छाड्दीन भनेको थिएँ, बाबुरामका चम्चा रमेश पन्तलाई भनेको थिएँ, मिडियामा अर्कै समाचार आयो । तर, त्यसले मलाई केही घाटा गरेको छैन ।’ एभरेष्ट होटलका मजदुर नेता झलक श्रेष्ठमाथि रमेश पन्त समुहको होमे भन्नेले आक्रमण गरेपछि पेरिसडाँडामा आफुले धम्क्याएको बताएका बर्तौला थप्छन्,‘मलाई बन्दुक तेर्साएका थिए, मैले थप्पड लगाइदिएँ ।’ विराटनगर सम्मेलनपछि काठमाडौंको भृकुटीमण्डपमा भएको विस्तारित वैठकमा बाबुराममाथि आफुले कुर्सी हानेको तर उनलाई नलागेको स्मरण गर्दै उनले भने,‘लडाकु साथीहरुले त गोली ठोक्नुपर्छ भनेका थिए तर हामी संयमित भयौं । भारतका चाकडीबाजविरुद्ध धेरै अघि नै कारवाही हुनुपर्छ भनिएको थियो ।’


















प्रतिक्रिया