
– नरेन्द्रसिह कार्की
दार्चुला, २४ मंसिर । दार्चुलामा एकीकृत नेकपा माओवादीको पूरै गाउँ कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं सांसद गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यमा विहीबार एमाले सिप्टी गाउँ कमिटीले आयोजना गरेको आमसभा कार्यक्रममा एमाओवादीको पूरै गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य समेत रहुनभएका प्रेमसिह धामीको नेतृत्वमा एमाओवादी गाउँ कमिटी सदस्य दानसिह धामी लगायत एक सय बढि कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग प्रमुख खडकसिह धामीले जानकारी दिए ।
त्यस्तै कम्पनी कमान्डर बहादुरसिह धामी, दलित मुक्ति मोर्चा जिल्ला कमिटी सदस्य प्रेमराम टमटा, प्लाटुन कमान्डर हरीशचन्द्र धामी लगायत पनि एमालेमा प्रवेश गरेका छन् ।
प्रेमसिह धामी सिप्टी गाविसका स्थानीय बासिन्दा हुन् । उनलाई एमाओवादीले अपि नाम्पा संरक्षण क्षेत्रको परिषद गठनको बेला पार्टी हित विपरित काम गरेको भन्दै कार्वाही गरेको थियो । केही समय स्वतन्त्र भएर बस्नु भएका धामीलाई एमाले पार्टीमा भित्र्याएको हो । उनको सिप्टी धुलीगडा खार इयरकोट क्षेत्रमा जनमत रहेको धामी निकट व्यक्तिहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गणेशसिह ठगुन्नाले मार्मा क्षेत्रमा एमाले थप बलियो भएर गएको बताए । कार्यक्रममा अनुशासन आयोगका केन्द्रीय सदस्य बीरबहादुर ठगुन्ना, एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, जिल्ला कमिटी सदस्यहरुको सहभागिता रहेको थियो ।
केन्द्रीय सदस्य एवं सांसद ठगुन्नाले एमाओवादी छोडी एमाले प्रवेश गर्नुभएका नेता धामी लगायतलाई उचित जिम्मेवारी दिने समेत बताए ।

















प्रतिक्रिया