– रामचन्द्र न्यौपाने
डोल्पा, २३ मंसिर । डोल्पा र जुम्ला कर्णालीमै धेरै परिमाणमा र स्वादिष्ट स्याउ उत्पादन हुने जिल्लाकोे रुपमा चिनिन्छन् ।
डोल्पामा राम्रो स्याउ उत्पादन हुने भएतापनि सडक सञ्जाल नजोडिएकाले हरेकबर्ष लाखौँ मुल्य बराबरको स्याउ घरमै कुहिने गरेको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार डोल्पामा उत्पादन गरिएको जम्मा स्याउमध्ये ३० प्रतिशत सम्ममात्र बिक्रिबितरण गरिन्छ, बाँकी सबै बजारको अभाबमा घरमै थन्किने र अधिकांश कुहिने गर्दछ । डोल्पामा यसबर्ष उत्पादन गरिएको अधिकांश स्याउ कृषकहरुले बेच्न पाएनन् ।
स्याउ बजारसम्म पुर्याउनको लागि यातायातको सुबिधा नभएकाले भरिया लगाएर बजारसम्म पुर्याउन महंगो परेपछि स्याउ अहिले सम्मपनि घरमै थन्किएको स्थानिय कृषकहरुले बताएका छन ।
डोल्पामा उत्पादन गरिएको डोल्पाली स्थानीय जातको स्याउ बिक्रि नभएपछि सुँ, त्रिपुराकोट, जुफाल, लिकु, माझफाल, दुनै लगायतका गाबिसका स्याउ कृषकहरु चिन्तित भएका छन् ।
कार्तिक महिनामा भित्रयाएको स्थानीय जातको स्याउ सडक र यातायातको अभाबका कारण बजारसम्म पुर्याउन नसकिएको र घरमै स्याउ किन्न नआउने भएकाले थन्किएको सुँ गाबिसस्थित रङ्गका स्याउ कृषकहरुले बताए ।
डोल्पामा यातायातको मुख्य साधनको नाममा एकमात्र जुफाल बिमानस्थल भएकाले हवाई सेवा नियमित नहुनुका साथै हवाई मार्गमार्फत स्याउ ढुवानीगर्दा मंहगो पर्ने भएकालेपनि स्याउ बजारसम्म पुर्याउन नसकिने कृषकहरुले बताए ।
ढुवानीको अर्को बिकल्पको रुपमा रहेको खच्चडबाट स्याउ ढुवानी गर्दा थिचिने, मिचिने कारणले स्याउ बाटोमै कुहिने भएकालेपनि डोल्पामा सडकसंजालको बिकल्प नहुँदासम्म डोल्पाली स्याउ घरमै कुहिने समस्या कृषकहरुको जस्ताको तस्तै रहने उनीहरुले बताए ।
यसरी उत्पादन गरीएको स्याउ जाजरकोट, रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आएका ब्यापारीहरुले केही मात्रामा किन्ने गरेकाले त्यसबाट केहि आयआर्जन गर्ने गरेको कृषकहरुले बताए ।
यसरी डोल्पामा उत्पादन गरीएका लाखौं बराबरको स्याउ घरमै थन्किएपछि स्याउकृषकहरु स्याउसंग अन्नबालिहरु साट्न थालेका छन ।
स्याउ घरमै कुहिनुभन्दा धान, मकै लगायतक अन्नबालि पाईने आशमा स्याउ संग साट्न बाध्य भएको स्याउ कृषकहरुको भनाई रहेको छ । स्याउ कृषकहरु एक पाथि धान बराबर चालिस दाना स्याउ पाईने गर्दछ । यदि डोल्पामा यातायातको पहुँचमात्र पुग्नेहो भने डोल्पालिहरुले स्याउ मात्रै बेचेर लाखौ आम्दानि गर्न सकिने स्याउ कृषकहरुले बताएकाछन ।
डोल्पामा प्रतिकिलो तीसदेखि चालिस रुपैँया सम्म बिक्रि नहुने भएकाले स्याउ अन्नबालिसंग साट्न बाध्य भएको स्थानिय स्याउ कृषक पुर्ण बुढाले बताउनुभयो । डोल्पाली स्याउ नेपालगञ्ज, सुर्खेत, दाङ लगायतका सहरमा लिने हो भने प्रतिकिलो एकसय पचास देखि दुईसयमा बिक्रि बितरण गर्न सकिने बुढाको भनाई छ ।
















प्रतिक्रिया