काठमाडौं, २३ मंसिर । च्याम्पियन्स लिग फुटबलमा क्रिष्टियानो रोनाल्डोले नयाँ किर्तिमान कायम गरेका छन् ।
मंगलबार राति माल्मोविरुद्धको खेलमा एक्लैले चार गोल गर्दै रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ किर्तिमान कायम गरेका हुन् ।
रोनाल्डोको किर्तिमानसँगै रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणमा अहिलेसम्मकै फराकिलो जित हात परेको छ ।
हिजोको खेलमा रियल मड्रिडले गोलको वर्षा गर्दै माल्मोलाई ८–० ले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले हृयाट्रिक गरे । खेलमा रियल मड्रिडले १२ औं मिनेटमा बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । २४ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे ।

३९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको ४७ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ५० औं मिनेटमा हृयाट्रिक पुरा गरे । ५८ औं मिनेटमा रोनाल्डोले चौथो गोल गरे ।
यससँगै च्याम्पियन्स लिगको समूह चरणमा रोनाल्डोको गोल ११ पुगेको छ र समूह चरणमा दोहोरो अंकको गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको ७० को मिनेटमा कोभाकिकले गोल गरे भने ७४ औं मिनेटमा बेन्जिमाले हृयाट्रिक पुरा गरे । जितसँगै रियल मड्रिड समूह एको विजेता बनेको छ भने पेरिस सेन्ज जर्मेन उपविजेता बनेको छ ।
















प्रतिक्रिया