काठमाडौं, २२ मंसिर । भारतसँग सिमाना जोडिएका नेपालका बजारहरूमा बिरामीका नाममा भारतीय मुद्रा (भारु) को कालोबजारी बढेको छ ।
सामान्य अवस्थामा भन्दा बिरामी उपचारका लागि धेरै भारु सटही सुविधा पाइने व्यवस्था रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
सोही व्यवस्थाको फाइदा उठाउँदै अहिले भारुको व्यापक कालोबजारी भइरहेको हो । तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण इन्धनलगायत अत्यावश्यक सामग्री अभावसँगै विभिन्न बहानामा भारुको कालोबजारी मौलाएको राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरूले स्वीकार गरेका छन् ।
विद्यमान कानुनी व्यवस्थाअन्तर्गत सामान्य अवस्थामा सातामा एक व्यक्तिले पाँच हजारसम्म भारु सटही सुविधा पाउँछन् ।
तर, बिरामी भई भारतमा उपचार गर्न जानुपरेमा बिरामीको अवस्था हेरी एकपटकमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म भारतीय मुद्रा सटही गर्न पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।
सोही कारण चिकित्सकबाट विरामीको नक्कली प्रमाणपत्र बनाई भारु माग गर्ने प्रवृत्ति बढेको राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् । पछिल्लो समयमा तोक आदेश (विरामीलगायत अन्य विशेष अवस्था) मार्फत भारुको माग बढेको नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय प्रमुख भीष्मराज उप्रेतीले जानकारी दिए ।
‘अहिले विरामीको नाममा भारुको माग धान्न नसकिने अवस्था छ,’ उनले भने । सोही कारण राष्ट्र बैंकले वास्तविक बिरामी पहिचान गरेर मात्र सटही सुविधा दिन थालेको उनले बताए । ‘विरामीले पाउने सटही सुविधामा पनि कडाइ गरेका छौं,’ उनले भने ।
मान्य अवस्थामा सो कार्यालयमा दैनिक औसत १२ लाख भारुको माग हुँदै आएकोमा अहिले २२र२३ लाख रुपैयाँ पुगेको उनले जानकारी दिए ।
तर, राष्ट्र बैंकले मागअनुसार भारु वितरण गर्न नसकेको उनको भनाइ छ । विरामीका लागि भारुको माग बढेकै कारण अहिले राष्ट्र बैंकले सामान्य अवस्थाको भारु सटही सुविधा (प्रतिव्यक्ति सातामा पाँच हजार) आधाले कटौती गरी दुई हजार ५ सय बनाइएको छ ।
यस्तै, वीरगञ्ज र सो आसपासका क्षेत्रमा पनि बिरामीका नाममा भारुको कालोबजारी मौलाएको छ । पछिल्ला केही महिनायता राष्ट्र बैंकको वीरगन्ज कार्यालयमा बिरामी उपचारका लागि भारु माग बढेको कार्यालय प्रमुख बमबहादुर मिश्र बताउँछन् ।
उनका अनुसार अहिले वीरगन्ज र सो आसपासका क्षेत्रमा भारुको माग चार गुणाले बढेको छ । एकातिर आन्दोलनका कारण राष्ट्र बैंकले नियमित रूपमा भारु वितरण गर्न नसकेको र अर्कातिर राष्ट्र बैंकमा मागअनुसार भारु स्टक नभएको उनले जानकारी दिए ।
सीमावर्ती बजारमा मात्र नभएर अन्य प्रमुख सहरहरूमा बिरामी, पर्यटक र तीर्थालुका नाममा भारतीय मुद्राको कालोबजारी बढेको स्थानीयले बताएका छन् ।
भारतसँगको अधिकांश व्यापार अनौपचारिक रूपमा हुने र त्यस्तो कारोबार भारुमार्फत हुने भएकाले भारुको माग बढेको उनीहरूको तर्क छ ।
‘बजारमा एकदेखि डेढ सय रुपैयाँमा बिरामी प्रमाणपत्र पाइन्छ,’ वीरगन्जस्थित एक व्यापारीले भने, ‘सोही कारण अधिकांशले कालोबजारीका लागि यो माध्यम अपनाएका छन् । अहिले नेपालगन्ज, वीरगन्ज, भैरहवा, जनकपुरलगायत अन्य सीमावर्ती क्षेत्रमा एक सय भारु १ सय ७० देखि ९० नेरुमा कारोबार हुँदै आएको छ ।
‘अहिले भारुको कुनै निश्चित मूल्य छैन, हुनुपर्यो जतिमा पनि बिक्री हुन्छ,’ वीरगन्जका एक व्यापारीले भने । भारतीय नाकाबन्दीयता राजधानीमा भारुको कालोबजारी मौलाएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।
नाकाबन्दीका कारण पेट्रोललगायत अन्य अत्यावश्यक वस्तुको कालोबजारी बढेसँगै भारुको माग बढेको र त्यसको तुलनामा आपूर्ति नभएकाले भारुको मूल्य बढेको हो ।
कालोबजारीका कारण अहिले भारु एक सयको मूल्य नेपाली दुई सयसम्म पुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।
केही दिनअघि नयाँ पत्रिकासँगको ‘फेस टु फेस’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । सोही कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले पनि बैंकमा भारुको माग उच्च भएको बताए ।
‘अहिले बैंकमा भारु खोज्नेको भीड बढेको छ,’ उनको भनाइ थियो । तर, राष्ट्र बैंकसँग पर्याप्त भारु मौज्दात रहेकाले बढी मूल्यमा किन्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीको दाबी छ ।
‘बजारमा भारु अभाव हुँदैन । थप चाहिए भारु खरिदका लागि चाहिने अमेरिकी डलर पनि हामीसँग पर्याप्त छ,’ उनले भने ।
स्रोतका अनुसार अहिले राष्ट्र बैंकसँग नगद पाँच अर्ब भारु मौज्दात छ । राष्ट्र बैंकले सामान्य अवस्थामा प्रतिव्यक्ति पाँच हजारका दरले भारु सटही सुविधा दिँदै आएको छ । तर, नागरिकले विशेष परिस्थिति (विरामी, अध्ययन, तीर्थयात्रा आदि) मा सम्बन्धित कागजातसहित आवश्यकताअनुसार ९२५ हजार, ५० हजार र ७५ हजार० भारु सटही पाउँछन् ।
यस्तै, भारतबाट नेपाल आउँदा ५ सय र १ हजार दरका भारु नोट बढीमा प्रतिव्यक्ति २५ हजारसम्म सटही सुविधा राष्ट्र बैंकले दिदै आएको छ ।
सन् २०१४ मा रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले नेपाल राष्ट्र बैंकलाई ६ अर्ब भारतीय मुद्रा आयात सुविधा दिएको थियो ।
सो परिमाणको भारतीय मुद्रा नेपाल आइसकेको छ । यस्तै, सन् २०१५ का लागि पनि सोही परिमाणको भारु आयातका लागि आरबिआईसँग आग्रह गरिएको र अहिलेसम्म अनुमति आइनसकेको राष्ट्र बैंकले जनाएको छ ।
आरबिआईले हरेक वर्ष भारु निर्यातको कोटा निर्धारण गरी नेपाल पठाउँदै आएको छ । अहिले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर (१ सय भारु बराबर १ सय ६० नेरु) छ ।















प्रतिक्रिया