काठमाडौं, १८ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता उपेन्द्र यादवले नेपालको आन्तरिक राजनीतिक विषयलाई मिलाइदेउ भनेर सत्तामा बसेकाहरूले दिल्ली धाएमा आफू आश्चर्य चकित परेको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा अध्यक्ष यादवले दिल्लीसँग वार्ता गरेर अहिलेको समस्या समाधान नहुने बताउनुभयो । उहाँले वार्ता मधेसी मोर्चासँग जिम्मेवार रुपमा गर्नुपर्ने बताउनुभएको छ ।
‘वार्ता नयाँदिल्लीसँग गर्ने होइन’, उहाँले भन्नुभयो, ‘आन्दोलन गरिरहेका मधेसी जनतासँग वार्ता गर्नुपर्छ । हामीसँग वार्ता गर्नुपर्छ । हामीसँग सहमति गरेपछि मात्रै निकास आउँछ । नाकाबन्दी खुल्छ ।’
उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापालाई ‘मन्डले मन्त्री’को संज्ञा दिनु भएका अध्यक्ष यादवले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले झपारेर पठाएको दाबी गर्नुभयो ।
उहाँले त्यो सूचना आफूलाई आएको उल्लेख गर्नुभएको छ । ‘मन्डले मन्त्रीलाई सुष्पमा स्वराजले झपारेर पठाएकी हुन्’, उहाँले भन्नुभयो, ‘वार्ता यहाँ होइन नेपालमा गएर मधेसी मोर्चासँग कुरा गर भनेर पठाएकी छिन् ।’
राष्ट्रियताको कुरा गर्ने सरकार र त्यसका मन्त्रीहरूले कुरा मिलाइदेउ भनेर नयाँदिल्लीमा गएर लम्पसार परेको भन्दै अध्यक्ष यादवले ब्याङ्ग्य गर्नुभएको छ । ‘हामी आन्दोलनकारीसँग वार्ता गर्न छाडेर यो खोक्रो राष्ट्रवादी सरकार नयाँदिल्लीमा चाडकी गर्न गएको छ’, उहाँले भन्नुभयो, ‘नेपाली जनतालाई खोक्रो राष्ट्रवादका नाममा धोका दिइरहेको छ ।’
उहाँले नेपाली जनताले के पायो त्यो आफूले जानकारी राख्ने भन्दै भारतले पक्षले के के भने त्यस कुरामा कुनै मतलव नरहेको बताउनुभयो ।
‘सधै नक्कली राष्ट्रवादको कुरा गरेर हुँदैन’, उहाँले भन्नुभयो, ‘दिल्ली धाउने चाकडी गर्ने । भारतीयको गोडा ढोग्ने । यो राष्ट्र हित हो ? भारतले नाकाबन्दी गरेको भन्न सक्छ यो सरकार ? भारतीय मालिकसँग । दिल्ली दरबारमा पुगेर सरकारले नाकाबन्दी भयो भन्न सक्नुपर्छ नी । त्यहाँ गएर केही भन्न नसक्ने । ठूला कुरा गर्ने ?’
मधेस र मधेसीको समस्या नेपालको हो की भारतीयको हो भनेर प्रश्न गर्नुभएका अध्यक्ष यादवले वार्ताका लागि कुनै जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकभित्रको समस्या यहाँ खोज्ने हो की दिल्लीमा गएर मालिकसँग खोज्ने हो ? समस्या समाधानका लागि वार्ता मधेसी मोर्चासँग हुनुपर्छ ।’












प्रतिक्रिया