यादवनाथ योगी, गायक तथा संगीतकार
गीत संगीतको क्षेत्रमा लागेका यादवनाथ योगी अहिले पनि आफ्नो सृजनालाई तिखार्न लागेको पाइन्छन् । दाङबाट बेलाबेलामा काठमाडौं आएर आफ्ना सृजनालाई आकार दिने योगी एक साताका लागि राजधानी आएका थिए । अनामनगरस्थित रेकर्डिङ स्टुडियो नजिकै फेला परेका योगीले यस पटक पनि आफ्ना सृजनाहरूलाई रेकर्डिङ गर्न आएको बताए । थुप्रै फिल्म, आधुनिक तथा लोकदोहरीमा संगीत एवम् स्वर दिएका योगीले अहिले पनि सृजना उत्कृष्ठ होउन् भन्ने चाहेको उल्लेख गर्छन् । गाउँमा बसेर पनि गीत संगीतलाई उत्तिकै महत्व दिने योगीसँग दैनिक नेपाल डटकमले गरेको कुराकानीः
गीत संगीतको क्षेत्र अहिले आकर्षण छ की छैन ?
– छ । पहिला पनि थियो । अहिले पनि छ । भोलि पनि हुन्छ । गीत संगीत भनेको सबैलाई मनपर्ने विषय हो । यसको आकर्षण घट्दैन । बढ्छ ।
गीत भनेको के हो ?
– गीतको परिभाषा दिने ममा सामर्थ्य छैन् । तर पनि मेरो विचारमा मानवीय भावनालाई शब्दमा बुन्ने एउटा कला हो । चाहे त्यो सुःखको होस्, चाहे त्यो दुःखको होस् । त्यो राष्ट्र वा मानवतासँग गाँसिएको हुनु पर्यो । गीतले मानव जीवनको यथार्थता बोकेको हुन्छ ।
संगती भनेको के हो नी ?
– मानिसहरूले विभिन्न तरिकाले संगीतको परिभाषा गर्ने गरेका छन् । यसलाई विभिन्न विशेषण दिने गरेका पनि छन् । तर मेरो विचारमा संगीत एउटा यस्तो कला हो । स्वर र तालको मिलन भएर निष्कने मिठास जसले मन प्रफुल्लित पार्न सक्छ । त्यही नै संगीत हो ।
सांगीतिक क्षेत्रमा लाग्नका लागि के गर्नु आवश्यक छ ?
– गीत संगीतमा लाग्नका लागि यही नै गर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था त छैन । तर पनि समय सापेक्षअनुसार संगीतको सामान्यतय अध्ययन गर्न जरुरी छ । हाम्रो जस्तो देशमा संगीत सिक्नका लागि जहाँकही प्रशिक्षण केन्द्र छैनन् । कठिनाइ छ । तै पनि औपचारिक होस् वा अनौपचारिक यसका शिक्षा लिँदा राम्रो हुन्छ । संगीतको शिक्षाका लागि पहिला जस्तो अहिले समस्या छैन ।
सांगीतिक क्षेत्रमा लाग्न तपाईले कुनै औपचारिक शिक्षा लिनु भएको छ ?
– लिएको छु । अहिले पनि सिक्दै छु । यसमा जति सिके पनि पूर्णता पाइँदैन । यसको कहाँनिर अन्त्य हुन्छ भन्ने नै छैन । यो क्षेत्रमा लागीरहँदासम्म सिक्ने र सिकाउने नै हो । औपचारिक शिक्षाले मात्रै हुँदैन । संगीतमा लाग्ने भनेर रहर गरे मात्रै पनि हुँदैन । त्यसका लागि आफूमा इच्छाशक्ति र सामन्य गुण पनि हुनु आवश्यक छ । संगीतमा इश्वरीय उपहार पनि जरुरी मानिन्छ ।
सांगीतिक क्षेत्रमा आफ्ना अग्रजका रुपमा कसैलाई मान्नु हुन्छ ?
– मेरो गुरु गोविन्दराज श्रेष्ठलाई मैले मान्छु । उहाँबाटै संगीतिको प्रारम्भ गरेँको हुँ । वरिष्ठ गायक मधुबाबु थापा, वरिष्ठ गायिका चन्द्रकला शाह, गायक डा.गोविन्द आचार्यलाई मैले अग्रजका रुपमा मान्ने गरेको छु । उहाँहरूले सांगीतिक क्षेत्रमा पुर्याएको योगदान र लगनबाट पनि प्रभावित छु ।
अहिले बजारमा आएका गीत संगीतबाट केही सिक्न पाइन्छ की पाइँदैन ?
– अहिलेको समयअनुसार बजारमा आएका गीत संगीतलाई नराम्रो भन्न मिल्दैन । राम्रा–राम्रा गीतहरू सृजना भएका छन् । ती गीतहरूबाट धेरै कुराहरू सिक्न पाइन्छ । केही गीतहरूमा सुधार पनि आवश्यक छन् । तर धेरै गीत संगीतहरू उत्कृष्ठ छन् ।
संगीतमा लागेर घरपरिवार गुमाउनेहरू पनि छन्, भन्छन् हो र ?
– त्यस्तो त मलाई लाग्दैन । छिटफुट घटना पनि भएका होलान् । ती घटनालाई लिएर यो क्षेत्रलाई बद्नाम गर्न मिल्दैन । संगीतले सम्बन्ध सुधार गर्ने हो । बरु बिग्रिएका घरहरू जोडिएका धेरै देखिएको छ । संगीतलाई बद्नाम गर्नेहरूले यस्ता खालका अफवाहहरू फैलाएका हुन्छन् । संगीतमा नलाग्नेहरूको पनि त घरबार बिग्रिएको हुन्छ । बिग्रनका लागि सांगीतिक क्षेत्रमा लाग्नु नै पर्छ भन्ने छैन ।
तपाई सांगीतिक क्षेत्रमा लागेर कुनै गल्ती त गर्नु भएको छैन ?
– त्यस्तो गल्ती गरे जस्तो लाग्दैन । बरु समाज र मुलुकका लागि मेरो एउटा सृजना थपिए जस्तो लाग्छ । सांगीतिक क्षेत्रमा लागेपछि मलाई र मेरो सृजनालाई माया गर्नेहरू धेरै पाएको छु । यसलाई गल्ती गरेको भन्न मिल्ला र ?
सांगीतिक क्षेत्रमा लागेपछि केटी साथीहरू बढेकी बढेनन् ?
– हा… हा…हा…। केटी साथी बढेका होलान् । त्यो स्वभाविक पनि हो । सांगीतिक क्षेत्रमा लागीसकेपछि केटी साथी मात्रै होइन, केटा साथीहरू पनि धेरै हुनुहुन्छ । उहाँहरू भनेकै मेरा स्रोता र दर्शक हुनुहुन्छ ।
प्रेम प्रस्ताव आएकी आएनन् ?
– आए नी । किन नआउनु नी । कुनै प्रेम प्रस्ताव विवाह अगाडि आए । कुनै प्रेम प्रस्ताव विवाह पछाडि आए । दुबै प्रस्ताव समय नमिलाएर आए । उचित समयमा आएनन् ।
तपाई विवाहित । सांगीतिक कार्यक्रममा हिँडीरहेका बेला घरमा किचालो हुन्छ की हुँदैन ?
– जनु घरमा असमझदारी हुन्छ । त्यो घरमा किचलो हुनलाई संगीत क्षेत्रमा लाग्नु पर्छ भन्ने छैन । तर मेरो श्रीमती समझदार छिन् । उनले मलाई बुझेरै मसँग विवाह गरेकी हुन् । त्यस कारणले यो क्षेत्रमा लाग्दा के के हुन्छ भन्ने उनलाई थाहा छ । किचालो भएको छैन ।















प्रतिक्रिया