
सर्लाही, १७ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सर्लाहीको नवलपुरमा गर्ने भनिएको विरोधसभा विथोलिएको छ ।
तराईमा चुरे भावर प्रदेशको माग गर्दै आन्दोलन गरिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले प्रतिकार गर्ने जनाएपछि मोर्चाले नवलपुरमा आयोजना गरेको कार्यक्रम विलोथिएको हो ।
अहिले चुरे भावरका हजारौ कार्यकर्ता सर्लाहीको राजमार्गमा सडक गस्ती गरिरहेका छन् । चुरे भावर पार्टीका अध्यक्ष बद्री न्यौपानेले सर्लाहीबाट टेलिफोनमा दैनिक नेपालसँग भन्नुभयो- ‘मेरै नेतृत्वमा हजारौं कार्यकर्ता राजमार्गको गस्तीमा छन् । दुई सयभन्दा बढी मोटरसाइकल, बस र ट्रकमा चढेर हाम्रा कार्यकर्ता राजमार्गमा उत्रिएका छन् । नवलपुर चुरे भावर क्षेत्रमा पर्ने भएकाले यहाँ हामीले मोर्चाका कुनै कार्यक्रम हुन नदिने घोषणा गरेका छौं ।’
चुरे भावरको गस्तीले नवलपुरमा हुने भनिएको मोर्चाको विरोधसभालाई स्थगित गरेर राजमार्गभन्दा चार किलोमिटर जुटपानी भन्ने ठाउँमा सारिएको मोर्चाका नेताहरुले जनाएका छन् ।
सर्लाहीका स्थानीय पत्रकार अशोक पहाडीका अनुसार नवलपुरमा मधेसी मोर्चाका नेता कार्यकर्ता देखिएका छैनन् । उहाँले भन्नुभयो- राजमार्ग गस्तीमा बारादेखि पतलैयासम्म र महोत्तरीदेखि धनुषासम्मका चुरेभावरका कार्यकर्ता हामीले पायौ । मधेसी मोर्चाका कोही देखिएनन् । मोर्चाको कार्यक्रम नभएपछि हामी नवलपुरबाट फर्कियौ ।’
यता चुरे भावर पार्टी अध्यक्ष न्यौपानले मधेसी मोर्चालाई चुरे क्षेत्रमा छिर्न नदिन सडकमा गस्ती गरिरहको बताउनुभयो । ‘यो हाम्रो क्षेत्र हो, यहाँ कसैलाई पनि बन्द, हड्ताल र विरोधसभा गर्न छुट छैन् ।’
यसैबीच दुईपक्षबीच झडप हुन नदिन स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । राजमार्गमा सयौंको संख्यामा प्रहरीहरु खटिएका छन् ।












प्रतिक्रिया