काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले देशभरका फिल्महलमा फिल्म सुरु हुनअघि राष्ट्रिय गान बजाउन निर्देशन दिएको छ ।
सबै दर्शकले आफ्नो सिटबाट उठेर राष्ट्रियगानप्रति सम्मान व्यक्त गर्नेछन् । अनि मात्र फिल्म सुरु हुनेछ ।
चलचित्र विकास बोर्डले अबदेखि नेपाली होस् या विदेशी, सबै फिल्म प्रदर्शनपूर्व हलमा राष्ट्रिय गान बजाउनुपर्ने नियम लागू गरेको हो ।
बोर्डले बुधबार पत्रकार सम्मेलन गरी पछिल्लो समय भएका प्रगति र निर्णय सार्वजनिक गरेको हो ।
हलमा राष्ट्रिय गान अनिवार्य बजाउन लगाउने नियम कार्यान्वयनका लागि चलचित्र संघसँग सम्झौता भइसकेको बताइएको छ ।
त्यसैगरी, बोर्डले संघसँग अबदेखि मल्टिप्लेक्स हलबाट निर्माताले फिल्म रिलिज भएको पहिलो साता ५० प्रतिशत, दोस्रो साता ४२ं दशमलव ५ प्रतिशत, तेस्रो साता ३७ दशमलव ५ प्रतिशत र त्यसपछि ३० प्रतिशत रकम पाउने सहमति गराएको छ ।
मल्टिप्लेक्स हलले निर्मातालाई मनोमानी ढंगले सेयर प्रतिशत दिने गरेको पाइएकाले बोर्डले यस्तो नियम लागू गरेको जनाएको छ ।
त्यसैगरी, बोर्डले ०७१ सालभरि सेन्सर पास भएका फिल्ममध्ये ‘सुनपानी’ र ‘१२ नेपाली एक चिहान’ नामक फिल्मलाई विशेष फिल्म घोषणा गरेको छ ।
बोर्डले विशेष फिल्मका लागि निर्माताहरूलाई फिल्म दर्ता गर्न आह्वान गरेको थियो ।
विशेष फिल्मको प्रदर्शन, निर्माता र वितरणमा बोर्डले सुविधा प्रदान गर्ने प्रावधान छ ।
बोर्डले गरेको हालका यी निर्णय नेपाली फिल्मको हितमा रहेको चलचित्रकर्मीको ठम्याइ छ ।















प्रतिक्रिया