ढाका, ११ मङ्सिर । उत्तरी बङ्गलादेशमा बिहीबार एक मस्जिदमा गरिएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट, आइएसले लिएको छ ।
बिहीबार सो मस्जिदमा भएको हमलामा परी एकजना मारिएका थिए र अरु तीनजना गम्भीर रुपमा घाइते भएका थिए ।
बङ्गलादेशको राजधानी ढाकाबाट करिब १२५ किलोमीटर उत्तरमा पर्ने शिवगञ्जमा रहेको सिया मुस्लिम समुदायको एक मस्जिदमा बिहीबार साँझको प्रार्थनाका क्रममा सो हमला भएको थियो ।
प्रार्थना गरिरहेका बेला केही व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी भागेका थिए । भाग्ने क्रममा उनीहरुले केही बताएका थिएनन् ।
टेलिभिजन फुटेजहरुले देखाएअनुुसार निकै ठूलो सङ्ख्यामा उपस्थित भएका सुरक्षाकर्मीहरुका बीचमा पनि ती हतियारधारीहरुले अकस्मात हमला गरेका थिए ।
सो हमलामा परी एकको मृत्यु भएको र तीन घाइते भएका थिए । उक्त मस्जिद परिसरमा रगत लत्पतिएका दृश्यहरु पनि ती टेलिभिजनहरुले प्रशारण गरेका थिए ।
प्रहरीले सो हमलामा परी उक्त मस्जिदका अधिकारी मारिएका र प्रार्थनामा रहेका तीनजना नराम्रारी घाइते भएका जानकारी दिएको छ ।
शिवगन्ज प्रहरीका प्रमुख असहन हबिबले दिएको जानकारी अनुसार सो हत्याकाण्डको अनुसन्धानका क्रममा सुन्नी मुस्लिम समुदायका केही स्थानीय नागरिकलाई आफूहरुले नियन्त्रणमा लिइएको छ ।
तर त्यसअगावै सो आइएस समूहले नै यस आक्रमणको जिम्मेवारी लिएको जानकारी दिइसकेको छ । बङ्गलादेशमा पनि आइएसले यसरी आक्रमणको जिम्मेवारी लिएको यो पहिलो पटक भएको बताइएको छ । रासस/एएफपी















प्रतिक्रिया