
भैरहवा, ११ मंसिर । विद्यालय स्तरका खेललाई महत्व दिएर खेल नीति अगाडि बढाईएमा राम्रा र अब्बल खेलाडीहरु सधै जीवन्त भईरहने एक कार्यक्रमका सहभागीले जनाएका छन् ।
सामूहिक विद्यालय परिवार रुपन्देहीको आयोजनामा शुक्रबारदेखि भैरहवामा शुरु भएको जोइन्ट क्रिकेट कप २०७२ को उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै अन्र्तराष्ट्रिय क्रिकेटर कसन्त रेग्मीले नेपाली खेल र खेल जगत्लाई जीवन्त राख्न विद्यालयस्तरको खेललाई विशेष प्राथमिकतामा राखी राज्यले कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । प्रमुख अतिथि रेग्मीले भैरहवाको सिद्धार्थ रंगशालाले नै आफूलाई अन्र्तराष्ट्रिय स्तरको खेलाडी बनाएको जनाउ“दै अग्रज समिर खान, सत्यजित सरकार लगायतको प्रेरणा फलदायी भएको जनाए ।
स्थानीय सिद्धार्थ रंगशालामा शुरु भएको क्रिकेट कपलाई बलिङ गरेर उद्घाटन गरेका रेग्मीलाई आफ्नो ज्ञान, बुद्धि र विवेकलाई हरेक विद्यालयमा गएर साट्न आफू तयार भएको भन्दै विद्यालय सञ्चालकलाई सो वातावरण मिलाउन अनुरोध समेत गरे ।
सो अवसरमा प्याब्सन नेपालका केन्द्रिय सदस्य विष्णु पन्थीले विद्यालय स्तरको खेललाई अगाडि नबढाए सम्म राष्ट्रिय खेलाडीको अभाव खड्किरहने बताए । प्याब्सन रुपन्देहीका अध्यक्ष सुदिप केसीले शारीरिक विकास नभएसम्म मानसिक विकास नहुने हुदा सामूहिक विद्यालय परिवारले नियमित रुपमा गर्दै आएको खेलकुद कार्यक्रम प्रशंसनीय भएको जनाए ।
सामूहिक विद्यालय परिवारका अध्यक्ष गोकुल पोखरेलले विद्यार्थीहरुको शारीरिक र मानसिक उत्कृष्टताको लागि खेलकुद आवश्यक भएको हुँदा परिवारले खेललाई जोड दिएको जनाए । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम थापाले खेलकुद विकास समितिले योजनाबद्ध रुपमा नयाँ खेलाडी उत्पादन गर्न आवश्यक सहयोग गर्ने जनाए ।
अन्तर्राष्ट्रिय अम्पायर समिर खानले प्रतिभाको विशेष प्रस्फुटनमा सामूहिकको योगदान चर्चायोग्य भएको जनाए । सामूहिक विद्यालय परिवारका सचिव प्रेम पौडेलको सञ्चालनमा सम्पन्न उक्त उद्घाटन सत्रमा अन्र्तराष्ट्रिय अम्पायर सत्यजित सरकार, राष्ट्रिय अम्पायर सन्देश रेग्मी, जंगबहादुर शाह, जिल्ला खेलकुद विकास समिति सदस्य उमा अधिकारी, सामूहिक विद्यालय परिवारका पूर्व अध्यक्ष राजकुमार गुरुङ, उदयकुमार मल्लिक, महेश भुर्तेल, चुडामणि भुषाल, इन्द्र बहादुर थापा लगायतको आतिथ्यता रहेको थियो ।
उदयकुमार मल्लिकको संयोजकत्वमा शुरु भएको आजकोे खेल साई ग्लोबल एकेडेमी र क्रिस्टल नलेज एकेडेमीबीच हुदैछ ।



















प्रतिक्रिया