काठमाडौं, ९ मङ्सिर । वन तथा भू–संरक्षण मन्त्रालयले मन्त्रालयको भावी सुधार र सेवाका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
वनमन्त्री अग्निप्रसाद सापकोटाले मन्त्रालय मातहत र सरोकारवाला निकायका प्रतिनिधिको उपस्थितिमा २७ बुँदे प्रतिबद्धतापत्र आज सार्वजनिक गर्दै भूकम्प प्रभावित क्षेत्रमा नवनिर्माण र पुनःनिर्माणका लागि तत्काल काठ उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले भूकम्पबाट अति प्रभावित जिल्लामा भू–क्षय र क्षतिगस्त जमिनको संवेदनशीलता अध्ययन गरी विशेष संरक्षण योजना तयारगरी कार्यान्वयनका लागि आवश्यक थप बजेट व्यवस्था गर्न पहल गरिने वताउनुभयो ।
प्रतिबद्धतापत्रलाई सरोकारवाला विज्ञको सुझावका आधारमा थप गर्न सकिने बताउँदै मन्त्री सापकोटाले उल्लेख गर्नुभयो ।
उहाँले इन्धन अभावको सङ्कट न्यूनीकरणका लागि काठमाडौँ उपत्यकामा दाउरा बिक्री सुरु गरिएकामा र सो कार्यलाई अझ व्यवस्थित गरी आवश्यकताअनुसार निरन्तरता र विस्तार गरिने जानकारी दिनुभयो ।
“वन सम्वद्र्धन प्रणालीमा आधारित वनको वैज्ञानिक व्यवस्थापन गरी समग्र वन स्रोतका दिगोपना कायम राख्दै वन पैदावारको सहज आपूर्ति, रोजगार सिर्जना र स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने व्यवस्था गरिने छ”– मन्त्री सापकोटाले भन्नुभयो ।
सो प्रतिवद्धतापत्रमा सुशासन कायम गर्न अनियमितता रोकथाम र भ्रष्टाचार नियन्त्रण सम्बन्धमा शून्य सहनशीलता अपनाइने, कर्मचारीको निश्चित लक्ष्य तोकी कार्यसम्पादन सम्झौतामार्फत बढी व्यावसायिक र लक्ष्योेन्मुख बनाई नतिजाअनुसार गुण र दोषका आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिने रहेका छन् ।
कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता गरिएका कार्यको कार्यान्वयन पक्षमा बढी ध्यान दिनुपर्ने सुझाव दिएका थिए । रासस














प्रतिक्रिया