१२ कार्तिक २०८३, बिहिबार

इनम सापकोटासँग आफ्नो नाम जोडिएको समाचारप्रति प्रधानन्यायाधीश शर्माको आपत्ति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्। उनले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलको नाम जोडेर अमेरिकामा ‘घुस’ र सापकोटाको मोबाइलबाट प्रमाण खुलेको दाबीसहित प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।

बिहीबार जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश शर्माले आफूलाई जोडेर आएका समाचारहरू आधारहीन रहेको दाबी गरेका छन्। सापकोटासँग आफ्नो कुनै सम्बन्ध, सम्पर्क वा संलग्नता नरहेको स्पष्ट पार्दै उनले समाचारमा उल्लेख गरिएका व्यक्तिहरूसँग आफूले चिनजानसमेत नरहेको स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा शर्माले सम्बन्धित व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष कुनै किसिमको सम्पर्क नभएको उल्लेख गरेका छन्। आफूले उनीहरूसँग कहिल्यै भेटघाटसमेत नगरेको उनको दाबी छ।

उनले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत नरहेको जिकिर गरेका छन्। यस आधारमा आफ्नो नाम जोडेर सार्वजनिक गरिएका विवरण तथ्यहीन भएको उनको भनाइ छ।

प्रधानन्यायाधीश शर्माले आधारहीन, झुटा तथा कपोलकल्पित समाचारमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै त्यस्ता समाचारको भर्त्सना गरेका छन्। साथै, अपुष्ट विवरणका आधारमा भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

पछिल्लो समय इनम सापकोटासँग विभिन्न उच्च पदस्थ व्यक्ति तथा अधिकारीहरूको सम्बन्ध रहेको दाबीसहितका समाचार सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन्। यसै सन्दर्भमा प्रधानन्यायाधीश शर्माले आफ्नो नाम जोडिएका विवरणको खण्डन गर्दै विज्ञप्ति जारी गरेका हुन्।