काठमाडौं, ९ मंसिर । सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले माइतीघर मण्डलामा मधेस आन्दोलनको सय दिन पुगेको अवसरमा आयोजना गरेको शोक सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लखेटिएको पुष्टि भएको छ ।
पेसाले चलचित्रकर्मी कैलालीका राजेन्द्र सापकोटाको नेतृत्वमा केही युवाहरुले जनतालाई बन्द, हड्ताल, नाकाबन्दी आन्दोलन गरेर दुःख दिने भन्दै यादवमाथि जाइलागेका थिए । सापकोटाले उनीसँग निकै लामो सवाल जवाफ गरे । विवाद बढेपछि यादव त्यहाँबाट कलेलाम ठोके । सापकोटाई प्रहरीले पक्राउ गरेर एकछिनमा छाडेको थियो ।
उक्त समाचार आएपछि संघीय समाजवादी फोरम नेपाल पार्टीले विज्ञप्ति निकालेर यादवलाई कसैले नलखेटेको र रक्सी खाएका युवकले हल्ला गरेको भनेर खण्डन गरेको थियो । तर, यहाँ राजेन्द्रले घटनामा के–के भयो भनेर सत्थयतथ्य खुलाएका छन् ।
आखिर कसरी लखेटिए त उपेन्द्र यादव ?

‘सोमबार पुतलिसडक अफिसबाट बाहिर निस्किए । माइतिघर मण्डलामा मधेसी दाजुभाइको भिडभाड थियो । केहीबेर उभिएँ र भाषण सुनेँ । सप्तरीमा दुई जना मान्छे मारिएको रे । सिधासादालाई गोली हानियो रे यस्तै यस्तै थियो । अझ सद्भाव बिथोल्ने खालको भाषण गरे । मलाई असह्य भयो । अनि म सिधै गएँ उपेन्द्रजीसँग भेटेँ र भनेँ – तपाईँलाई तराईमा २ जना मान्छे मर्दा ‘प्रब्लम’ भयो, हुनत ती पनि हाम्रै दाजुभाइ नै हुन् तर यहाँ हरेक दिन औषधि नपाएर अस्पतालमा मानिस मरिराखेका छन, ग्यास नपाएर मानिस भोकभोकै मरिराखेका छन् । देश अस्तव्यस्त छ । अर्थतन्त्र तल खसिसक्यो । युथहरु फ्रस्ट्रेटेड छन् । तपाईंले गर्न खोज्नुभएको के भनेर सोधेँ । तपाईंहरुको बन्द गर्ने आन्दोलन के हो ? ट्वान्टी वान सेन्चुरीमा आन्दोलन चेन्ज गर्नुस् । तपाईंहरुले गर्न खोजेको के ? बन्द हड्ताल ब्लकेड त अति भयो, यसले हुँदैन । जनताका लागि तपाईंहरु नेता हो भने – यो त तपाईंहरुले जनतालाई दमन गरिराख्नुभएको छ, घाँटी थिचेर मारिराख्नु भएको छ । प्लिज डु नट डु दिस थिङ्कस् । नगर्नुस् । हामीलाई फ्रस्ट्रेट नगर्नुस् भनेँ । उहाँले तपाईं केपी ओलीकोमा जानुहोस् भनेर भन्नुभयो । मैले भनेँ – तपाईं पनि जानुस् । ल तपाईं म हामी सबै जना केपी ओलीकोमा जाउँ न त । ल हिड्नुस् भनेर हात समाएँ । म एग्रेसिभ भएँ । किनभने उहाँले इरेस्पोन्सिबल एन्सर दिनुभयो नि त । अनि मैले एग्रेसिभली भनेँ – तपाईं हामीलाई ग्यास दिनुहोस, पेट्रोल दिनुहोस, बन्द तुरुन्त खोल्दिनुस, हामी जस्तो योङलाई खाडी मुलुकमा कामका लागि धकेल्ने काम नगर्नुस् । रेमिट्यान्सले मात्र त सँधै देश चल्दैन नि ! भनेर एग्रेसिभली प्रस्तुत भएँ । अनि भिड अलिक पछाडि फर्कियो । अनि उपेन्द्रजी कार्यक्रमबाट टाप कस्नुभयो । किनकि त्यहाँ सिचुएसन नै त्यस्तै बन्यो । अनि मलाई पुलिसले अर्कोतिर लिएर गयो । मैले पुलिससँग पनि भने म साधारण योङ केटा हो । म देशका लागि केही बोल्नुपर्छ भन्ने मान्छे हो । म पनि पीडामा छु भने । अनि मलाई छाड्यो । ‘
सापकोटा पेसाले फिल्म छायांकार हुन् । उनी यही विषयमा काठमाडौंमा अध्ययन समेत गरिरहेका छन् । नेपालीको पीडा मधेसी नेतासँग पोखेको भन्दै उनलाई सारा नेपालीले अहिले धन्यवाद दिइरहेका छन् ।















प्रतिक्रिया