दमासकस (सिरिया), ८ मङ्सिर । सिरियाको उत्तरपश्चिममा युद्धरत विद्रोहीले टर्कीको वायुसेनाले एक रसियाली युद्धक विमानलाई खसालिदिएको भन्दै मङ्गलबार दृश्यचित्र सार्वजनिक गरेको यहाँका सैनिक अधिकारीले बताएका छन् ।
सिरियाली राष्ट्रपति बसार अल असादलाई सघाउन पठाएको रसियाली विमान टर्कीको सीमा क्षेत्रमा प्रवेश गरेपछि एफ–१६ लडाकू विमानको प्रयोग गरी उडिरहेको उक्त विमानलाई मङ्गलबार बिहानै खसालेको सिरियाली विद्रोही पक्षको दाबी छ ।
विद्रोहीले युद्धक विमानबाट प्यारासुटबाट झर्दैै गरेका विमान चालक र खस्दै गरेको विमानको भनिएको २० सेकेन्ड लामो दृश्यचित्र (भिडियो) ट्वीटर एकाउन्टमार्फत सार्वजनिक गरेका छन् ।
खस्दै गरेको विमानको दृश्य हेरिरहेका विद्रोहीले विमान खसेपछि चिच्याउँदै ‘अल्लाह सर्वशक्तिमान छन्’ भनेको भिडियोमा आवाज सुनिएको थियो ।
उक्त ठाउँ रसियाली विमान खसेको स्थान भएको सञ्चारमाध्यमले बताएका छन् ।
भिडियोमा विद्रोही सेनाले दशौँ ब्रिगेडले रसियाली युद्धक विमानका चालकलाई नियन्त्रणमा लिएको भन्दै जमिनमा घोप्टो अवस्थामा ढलेको मानवीय शरीरलाई देखाएका थिए ।
चालक सख्त घाइते र चल्न नसक्ने अवस्थामा भएको ट्वीटर एकाउन्टमा सेयर गरेको भिडियोमा देखिएको संचारमाध्यमले जनाएका छन् ।
यसैबीच रसियाली युद्धक विमान सिरियाली जमिनबाट बन्दुकद्वारा खसालिएको रसियाली विदेश मन्त्रालयले पुष्टि गरेको छ ।
सु–२४ नामधारी उक्त युद्धक विमान जमिनबाट छ हजार मिटरको उचाइमा विस्फोट गराइएको आफ्नो नाम बताउन नचाहने रसियाली सैनिक अधिकारीलाई उद्धृत गर्दै यहाँको इन्ट्राफेस समाचार संस्थाले लेखेको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया