काठमाडौँ । सन्नी केरलाद्वारा निर्देशित तथा दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘वाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।
ट्रि इन्टरमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
आज पत्रकार सम्मेलन गरी प्रस्तुतकर्ता दर्शनधारीले समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा प्रस्तुत गरिएको बताउनुभयो ।
निर्माता सत्यालले मैलिएको वाग्मतीलाई सफा बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान समयमा निराशाजनक भए पनि चलचित्रले आशा जागोस् भन्ने कामना गर्नुभयो ।
चलचित्रमा नायक राजेश हमाल, शिव श्रेष्ठ, रमेश अधिकारी, नायिका केकी अधिकारी, श्रेया कार्कीलगायतले अभिनय गर्नुभएको छ । चलचित्र दुई महिना लगाएर निर्माण गरिएको थियो । रासस
















प्रतिक्रिया