चितवन, ४ मंसिर । भारतीय अघोषित नाकाबन्दीका कारण उद्योग र व्यापारमा कमी आएपछि आन्तरिक राजस्व कार्यालय भरतपुरमा सङ्कलन हुने करमा २५ प्रतिशतले कमी आएको छ ।
नाकामा अवरोध हुँदा भन्सारबाट कच्चा पदार्थ एवम् इन्धन सहज आयात हुन नसक्दा उद्योगहरु प्रभावित भएपछि राजस्वमा भारी कमी आएकोे हो ।
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख टीकाराम भुसालका अनुसार गएको चार महिनामा तीन अर्ब ६८ करोड ८४ लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकामा दुई अर्ब ७७ करोड ४८ लाखमात्र राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ७५ दशमलव २३ प्रतिशतमात्र हो ।
प्रमुख भुसालले सबैभन्दा बढी अन्तःशुल्कमा प्रभाव परेको बताउनुभयो ।
साउनदेखि कात्तिकसम्म अन्तःशुल्कमा मात्र तीन अर्ब १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा दुई अर्ब १७ करोडमात्र सङ्कलन भएको छ । जुन लक्ष्यको ६८ दशमलव ३२ प्रतिशतमात्र प्रगति हो । उहॉले आयकर, घरबहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर र शिक्षा सेवा शुल्क करमा राम्रो प्रगति भए पनि अन्तःशुल्कसँगै स्वास्थ्य सेवा करमा पनि राजस्व सङ्कलनमा निकै कमी आएको बताउनुभयो ।
स्वास्थ्य सेवा करमा तीन करोड ५२ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा एक करोड ३८ लाखमात्र राजस्व सङ्कलन भएको छ । जुन ३९ दशमलव ३३ प्रतिशतमात्र हुन आउँछ ।
आयकरतर्फ भने लक्ष्यको १४२ दशमलब ४९ प्रतिशत उपलब्धि भएको छ भने घरबहाल करमा ११५ दशमलब ६२ प्रतिशत, ब्याजकरमा १०१ दशमलब ०४ प्रतिशत, मूल्य अभिवृद्धि करमा ११४ दशमलव २२ प्रतिशत र शिक्षा सेवा शुल्कमा १२९ दशमलब २३ प्रतिशत उपलब्धि भएको प्रमुख भुसालले बताउनुभयो ।
यस कार्यालयले हेर्ने चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्रमा धेरै बियर र मदिरा उद्योग छन् । देशभरका बियर उद्योगबाट सङ्कलन हुने अन्तःशुल्कको ८० प्रतिशत हाराहारी राजस्व यही कार्यालयबाट सङ्कलन हुनेमा नाकाबन्दीका कारण अन्तःशुल्कमा सबैभन्दा बढी प्रभाव देखिएको भुसालले बताउनुभयो ।
बियर र मदिराका बोतल सङ्कलन हुन नसक्नु, भन्सारबाट नयाँ बोतल र कच्चा पदार्थ आयात हुन नसक्नु एवम् इन्धनको अभावकै कारण उत्पादन घटेकैले राजस्वमा कमी आएको उहाँले बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालयमा आयकरतर्फ ३६ हजार १४५, मूल्य अभिवृद्धि करतर्फ छ हजार ३८१ र अन्तःशुल्कतर्फ तीन हजार ५४१ करदाता रहेका छन् । आन्तरिक राजस्व कार्यालयले चालु आवमा ११ अर्ब ८१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । गत आवमा नौ अर्ब ९६ करोड राजस्व सङ्कलन भएकामा अन्तःशुल्कको मात्रै आठ अर्ब ४५ करोड रहेको थियो । रासस















प्रतिक्रिया