काठमाडौँ, ३ मङ्सिर । राष्ट्रिय कराते खेलाडी सुनिल लामा फिका युएसए-२०१५ अन्तर्राष्ट्रिय कराते डो प्रतियोगितामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
नेपाल कराते महासङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजकका अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसीलगायतले सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।
यही मङ्सिर ६ गते हुने उक्त प्रतियोगितामा सुनिलले ६० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । लामा ११औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा १३औँ एसियाली प्यासिफिक सितोरियो कराते प्रतियोगिताका स्वर्णधारीसमेत हुन् ।
उनले २०१५ मा लन्डनमा भएको १९औँ सेन्ट्रल इङ्ल्यान्ड ओपन कराते तथा २०१२ मा सिङ्गापुरमा भएको ओपन कराते च्याम्पियनसिपमा कास्यपदक हात पारेका थिए ।
त्यस्तै लामाले जर्मनमा भएको २२औँ विश्व कराते च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् ।
प्रतियोगितापछि लामाले न्युयोर्कमै रहेको गोसिनरियो मार्सल आर्ट एन्ड फिट्नेस स्टुडियोमा एक महिने प्रशिक्षण लिने बताइएको छ । उनलाई त्यहाँ लुइस रुयिजले प्रशिक्षण दिनेछन् । रासस















प्रतिक्रिया