१ कार्तिक २०८३, शनिबार

अबदेखि साना उद्योग निःशुल्क दर्ता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Udyog-Ministryकाठमाडौँ, ३ मङ्सिर । उद्योग मन्त्रालयले महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले उनीहरुद्वारा सञ्चालित साना उद्योगलाई निःशुल्क दर्ता गर्ने व्यवस्था गर्न लागेको बताइएको छ ।

घरेलु तथा साना उद्योग समितिले आज यहाँ आयोजना गरेको सफल महिला उद्यमीको अनुभव एवम् सल्लाह र सुझावसम्बन्धी एक दिने अन्तक्र्रियामा उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले औद्योगिक ऐनमार्फत नै उक्त व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

“महिलालाई सफल उद्यमी बनाउन सके मुलुकमा छिट्टै आर्थिक परिवर्तन ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो, “हामीले वर्षेनी केही सङ्ख्यामा महिलालाई निःशुल्क सीपमुलक तालिमको व्यवस्था गरेका छौँ ।”

मन्त्रालयका सहसचिव यामकुमारी खतिवडाले साना उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले ७५ जिल्लाका सरकारी कार्यालयमा उनीहरुले उत्पादन गरेको सामग्री बिक्रीवितरण गर्ने व्यवस्था मन्त्रालयले गर्न लागेको बताउनुभयो । “महिलाले सातामा १०३ घन्टा श्रम गर्छन्, पुरुषले ५८ घन्टा मात्र श्रम गर्दा पनि पुरुषले गर्ने श्रमको मात्र व्याख्या गरिन्छ । महिलाको श्रमलाई अब आर्थिक क्रियाकलापमा लगाउनुपर्ने समय भएको छ ।”

कार्यक्रममा सफल महिला उद्यमी रेखा अर्यालले समितिमार्फत लिएको तालिमपछि २०५१ सालबाट सुरु गरेको उद्योगले अहिले सयौँ महिलालाई रोजगारी प्रदान गरेको जानकारी दिनुभयो । मन्त्रालयले ‘महिला उद्यमशीलता विकास कोष’ खडा गरी महिला उद्यमीलाई आर्थिक सहायता गरिरहेको जनाएको छ । रासस