
काठमाडौं, ३ मंसिर । एमालेका वरिष्ठ नेता झलनाथ खनालले बुधबार सिंहदरबारमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको वार्तामा सीमाङ्कनको माग अव्यवहारिक रहेको भन्दै कडा टिप्पणी गरेपछि बैठक केही समय तनावपूर्ण बनेको तथ्य बाहिर आएको छ ।
राज्य व्यवस्था समितिको कार्यकक्षमा चार बजे सुरु भएको बैठकमा नेता खानालले मधेसी मोर्चाले सीमाङ्कनका विषयमा उठाएको माग अवैज्ञानिक र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाएपछि तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयश त्रिपाठीले विरोध जनाउनुभएको थियो ।
एमाले वरिष्ठ नेता खनालको अभिव्यक्तिलाई लिएर आफूले विरोध जनाएको सहअध्यक्ष त्रिपाठीले पनि स्वीकार गर्नुभएको छ ।
‘झलनाथ खनालजीले मधेसी मोर्चाले उठाएको सीमाङ्कनको माग अवैधानिक र अव्यवहारिक छ भनेपछि मैले कडा विरोध गरे’, आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सहअध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘अहिलेको तपाईहरुले बनाएको सात प्रदेशको सीमाङ्कन पनि अव्यवहारिक र अवैज्ञानिक छ भनेको हुँ ।’
त्रिपाठीले अहिले बनाइएको संघीयताको सात प्रदेशको संरचना पनि अवैधानिक रहेको टिप्पणी गर्नुभयो । त्रिपाठीले सात प्रदेशको सीमाङ्कन आफूहरुले नमान्ने भन्दै कडा अभिव्यक्ति दिएपछि बैठकमा केही बेर तनावको स्थिति उत्पन्न भएको स्रोतको भनाइ छ ।
‘सात प्रदेशको सीमाङ्कन पनि वैज्ञानिक छैन’, त्रिपाठीले बैठकमा बोलेको अभिव्यक्तिलाई उदृत गर्दै स्रोतले भन्यो, ‘बैठकमा केही बेर झलनाथ खनाल र हृदयश त्रिपाठीबीच भनाभन भयो ।’
बैठकमा एमाओवादीका अध्यक्ष एवम् सरकारी वार्ता टोलीका प्रमुख पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समिति वा राजनीतिक उच्चस्तरीय समितिमार्फत सीमाङ्कनको विषय टुङ्गो लागउन प्रस्ताव गर्नुभएको थियो । तर सो प्रस्तावलाई मधेसी मोर्चाले अस्वीकार गरेको छ ।















प्रतिक्रिया