१ कार्तिक २०८३, शनिबार

मोदीलाई भारतकै सांसदले भने- नेपालमा हस्तक्षेप रोक, ठूल्दाइको रबैया नदेखाउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi
काठमाडौं, २ मंसिर । भारतका एक प्रमुख सांसदले भारतले नेपालमाथि लगाएको ‘अनौपचारिक’ नाकाबन्दीका कारण अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा आधारभूत मानवअधिकारको स्पष्ट रूपमा उल्लंघन भएको बताएका छन् ।
केही दिनअघि परिवारसहित बिदा मनाउने क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन् । ‘भूकम्पबाट थिल्थिलिएको नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ। तर भारतले अहिले जे गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो,’ सत्पथीले उल्लेख गरेका छन् ।
‘हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र नेपाली आमजनता भारतविरोधी बनेका छन् । सरदर नेपाली नागरिकको अवस्था हेर्दा उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले स्वाभाविक रूपमा आक्रोशित गराएको छ,’ सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा भनेका छन् ।
पत्रमा उनले ‘नेपाल एउटा भूपरिवेष्टित मुलुक भएकै आधारमा भारतले ठूल्दाइको रबैया देखाउँदै अत्यावश्यक वस्तुहरूको आपूर्ति बन्द गर्नुपर्ने हो र ?’ भनी प्रश्न गरेका छन् । नयाँदिल्लीबाट टेलिफोनमा कुराकानी गर्दै सत्पथीले प्रधानमन्त्री मोदीलाई आफूले लेखेको पत्रको जबाफ पाइनसकेको बताए ।
Tathagat_satpathi_CA_INdia
जनता दलका सांसद तथागत सत्पथी

‘मोदीजीबाट मैले पत्रको जबाफ पाएको छैन । तर नेपालभित्रको यथार्थ स्थितिबारे मोदीजीलाई जानकारी गराउन पाएकोमा म खुसी छु’, उनले भने । मोदीलाई लेखेको पत्रमा सांसद सत्पथीले भनेका छन्, ‘तपाईं स्वयंले पनि केहीअघि नेपाल भ्रमण गर्नुभएको हो र हाम्रो दुई देशबीचको साझा इतिहासबारे तपाईंलाई जानकारी नै छ। तर अहिले त्यो मुलुकसँग हाम्रो निकै पुरानो सम्बन्ध समाप्त हुने चरणमा पुगेको छ ।’

सत्पथीले भारतीय प्रधानमन्त्रीलाई विदेश मन्त्रालयका कर्मचारीबाट नेपालमा शान्ति तथा सुखको वातावरण छ भनेर रिपोर्ट पाइरहेको भएदेखि त्यसमा कुनै सत्यता नरहेको भन्दै कर्मचारीसँग विश्वास नगर्न पनि सुझाएका छन् ।’ मेरो आशंका छ नेपालप्रति हाम्रा कर्मचारीहरूका आफ्नै पूर्वाग्रह र स्वार्थहरू छन्,’ पत्रमा छ ।
पोखरास्थित आफू बसेको होटलका ‘वेटर’लाई उद्धत गर्दै सत्पथीले भारतीयहरूले अक्सर रूपमा नेपालीमाथि दुव्र्यवहार गर्ने गरेको उल्लेख गरेका छन् । ती वेटरले भारतीयहरूको सेवा कहिल्यै गर्नु नपरोस् भन्ने महसुस गरेको आफूसँग बताएको समेत उनले पत्रमा लेखेका छन् ।अन्नपूर्ण पोष्टमा समाचार छ ।