३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटमा नेपालको साँघुरो हार, आजको हारले नेपाल दबाबमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket

काठमाडौँ, ३० कात्तिक । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज भएको दोस्रो चरणको पहिलो खेलमा नेपाल पपुवान्युगिनीसँग दुई विकेटको साँघुरो अन्तरले पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)को शेख जाहेद रङ्गशालामा आज टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन जोडेको थियो । जवाफी ब्याटिङमा आएको पपुवान्युगिनीले आठ विकेटको क्षतिमा तीन बल बाँकी छँदै लक्ष्य पूरा ग¥यो ।

पपुवान्युगिनीलाई जित दिलाउन अस्साद भालाले महत्वपूर्ण ८७, चार्लेस अमिनीले ३५, टोनी उराले ३० रनको योगदान दिँदा अविजित रहेका जोन रेभाले १५ तथा नोरम्यान भानुले एक रन जोडे ।

यसअघि नेपालले खराब सुरुआत गर्ने क्रममा ओपनर अनिल मण्डललाई शून्य रनमा गुमाएको थियो तर शरद भेषवाकर र सुवास खकुरेलले नेपाली क्रिज सम्हाल्ने प्रयास गरे । सर्वाधिक ७८ रनको योगदान दिएका शरदले ८२ बलको सामना गर्दै पाँच चौका हानेका थिए भने सुवास खकुरेलले १०४ बल खेल्दै दुई चौकाको मद्दतमा ६३ रन जोडे ।

त्यस्तै वसन्त रेग्मीले अविजित रहँदै २४, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ र सागर पुनले १० रनको योगदान दिए भने अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन समेत बनाउन सकेनन् ।

त्यसैगरी बलिङतर्फ पपुवान्युगिनीका भालाले तीन, माहुरु दाइले दुई तथा रेभा, चड सोपर र भानुले एक/एक विकेट लिए । नेपालका कप्तान पारस खड्का र मेहेबुब आलमले दुई÷दुई तथा सागर, शक्ति गौचन र सोमपाल कामीले एक/एक विकेट लिए पनि नेपालको हार टरेन ।

आजको हारले नेपालको विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने अवसर कमजोर भएको छ । यसअघि स्कटल्यान्डमा भएको पहिलो चरणका स्कटल्यान्डविरुद्धका दुवै खेलमा नेपालले हार बेहोरेपछि पपुवान्युगिनीलाई आज जित्नैपर्ने दबाब परेको थियो ।

स्कटल्यान्डसँगको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा नौ विकेटले हार बेहोर्न पुगेको थियो ।

त्यस्तै नेदरल्यान्ड्समा सम्पन्न पहिलो चरणको खेलमा दुई खेल नै खेलेको पपुवान्युगिनी पनि अङ्कविहीन अवस्थामा थियो । पपुवान्युगिनी नेदरल्यान्ड्ससँग पहिलो खेलमा पाँच विकेटले तथा दोस्रो खेलमा ८५ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, हङकङ, नामिबिया, पपुवान्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोली सहभागी छन् । सबै सहभागी टोलीले एकार्कासँग दुई/दुई खेल खेल्नेछन् । उक्त टोलीमध्ये शीर्ष छभित्र पर्ने टोलीले सन् २०१९ मा हुने आइसिसी विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । रासस