नेपालमा रंग गतिविधीले तरंग पैदा गरिरहेको बेलामा अमेरिका मा पनि नेपाली नाटक मञ्चन हुने भएको छ ।
आउंदो डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने अमेरिकाको न्युयोर्क म्यानह्याटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुने जानकारि आइतबार न्युयोर्क शहरको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन मार्फत यससम्बन्धी जानकारी दिइयो ।
जोडियोस् भत्किएका मनहरु शिर्षको नाटकका लेखक हुन् अशेष मल्ल हुन भने यसको निर्देशन हरिवहादुर थापाले गरेका हुन ।
नेपाली रंगमञ्चको इतिहास केलाउंदा अशेष मल्लका स्थान के हो भनी लेखिरहनै पर्दैन । नेपाली रंगमञ्चको स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भुकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् ।
अशेष मल्ल जस्ता अग्रज कलाकारसंग जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती अर्थात हरिबहादुर थापा ।
मालती–मङ्गले र अमरसिंह जस्ता प्रशिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका थापाले यस नाटकको निर्माण र निर्देशन गर्दैछन् । थापा विगत दुई महिनादेखि न्युयोर्कमै रहेका कलाकारहरुलाई लिएर यो नाटकको प्रशिक्षण दिइरहेका छन् । “मलाई न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने ठुलो रहर थियो , त्यो अब पुरा हुने संकेत देखिएको छ ,” थापा भन्छन् ।
थापा नाटकको विषयवस्तु बारे यसो भन्छन्,“ नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो…….यही क्रिया प्रतिक्रियाको सविस्तार चित्रण अनि, अब भूकम्पग्रस्त समाजले खोजेको सन्देशलाई दर्शक माझ पुर्याउने एउटा प्रयास हो यो नाटक । ”
“ विश्व रंगमंचको राजधानी सहर न्युयोर्क, जहँ दिनहुं अनेक शैलीका सयौं नाटकहरु प्रर्दशन भैरहन्छन् । हामीले पनि त्यही व्यस्त ब्रोडवमा यसरी नेपाली भाषाको नाटक पहिलो पटक मन्चन गर्न पाउदा अत्यन्तै हर्ष लागेको छ,” थापा थप्छन् ।
न्युयोर्कमा हुने विभिन्न रंगमञ्चिय प्रस्तुतिलाई दर्शक संख्याको आधारमा तीन भागमा विभाजन गरिन्छ ।
१. ब्रोडवे थियटर–यो न्युयोर्कको सबभन्दा ठुलो नाटक मञ्चन हुने ठाउं हो । ४० वटा व्यवसायिक रंगमञ्च रहेको ब्रोडवेमा सिट क्षमता ५०० देखि लगभग २००० सम्म हुन्छ ।
२. अफ ब्रोडवे थियटर–यो दोस्रो ठुलो नाटक मञ्चन हुने ठाउं हो जहां सिट क्षमता १०० देखि ४९९ सम्मका हुन्छन् । नेपाली नाटक “जोडियोस् भत्किएका मनहरु” यहिं देखाइंदैछ ।
३. अफ–अफ ब्रोडवे थियटर–यो सबभन्दा सानो नाटक मञ्चन हुने ठाउं हो जहां सिट क्षमता १०० भन्दा कम हुन्छन् ।
नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहने छ ।
पत्रकार सम्मेलनमा नाटकमा पत्रकारकी भुमिका निभाइरहेकी दिपिका श्रेष्ठले २ मिनेटको प्रस्तुति दिएकी थिइन् ।
करिब एक घण्टा लामो यस नाटक अवलोकन गर्न सबै नेपालीलाई आह्वन गर्दै निर्देशक थापा भन्छन् –“ यो कुनै काल्पनिक र मनोरंजनात्कम भ्रम होइन यो एउटा मार्मिक यथार्थ हो । यस यथार्थलाई विश्वभरका शुभ चिन्तकका माझ प्रस्तुत गरिरहेका छौं । यो केबल नाटक मात्र होइन यो त स्वयं एउटा जीवन हो।”
न्युयोर्क शहरको म्यानह्याटनमा रहेका 777 Theatre मा यहि डिसेम्बर १३ तारिख ३ बजे र ७ बजे दुई शो हुंदैछ । १५८ सिट क्षमता रहेको उक्त थियटरमा नाटक अवलोकन गर्नका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका छन् ।
















प्रतिक्रिया