अन्तालिया, ३० कात्तिक । चिनियाँ राष्ट्रपति सि जिनपिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच टर्कीमा भेटवार्ता भएको छ ।
जि २० को सम्मेलनमा सहभागिताका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच सो भेटवार्ता भएको समाचारमा जनाइएको छ ।
उक्त भेटका क्रममा उहाँहरुबीच यसअघि दुवै राष्ट्रबीच के कसरी एक भएर अघि बढ्ने भनी व्यक्त भएका प्रतिबद्धताहरुलाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले सो अवसरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग चीनले जि२० देशहरुसँग समावेशी तथा अन्तरसम्बन्धित अथवा समन्वयात्मक अर्थतन्त्रको विकास गर्न चाहेको विषयमा पनि कुराकानी गर्नुभएको थियो ।
चीनले आगामी वर्षदिनका लागि जि२० को अध्यक्षताको पालो पाएको छ । त्यसैले सो समयसम्मका लागि चीनलाई रसियाको सहयोग पनि माग्नुभएको बताइएको छ । दक्षिणपश्चिमी टर्कीको सहर अन्तालियामा जारी रहेको जि२० को सम्मेलनका क्रममा उहाँहरुबीच सो भेटवार्ता भएको थियो ।
त्यस क्रममा चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले आयोजना गर्ने यस जि२० सम्मेलनका लागि चीनले रसियासँग समन्वय र सञ्चारसम्बन्ध कायम गर्न चाहेको जानकारी दिनुभएको थियो ।
उहाँको प्रस्तावलाई रसियाली राष्ट्रपति पुटिनले समर्थन गर्नुभएको थियो । त्यसैगरी यी दुई नेताबीचमा ब्रिक्स राष्ट्रका बीचमा आर्थिकलगायतका क्षेत्रमा गरिने विकास र विस्तारका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
टर्कीमा जारी सो सम्मेलनमा विश्वका प्रमुख २० आर्थिक सम्पन्न राष्ट्रका नेताहरु सहभागी भइरहेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा पनि सो सम्मेलनका लागि सो सम्मेलनमा सहभागिताका लागि आइतबारै टर्की पुग्नुभएको छ । रासस/सिन्ह्वा
















प्रतिक्रिया