१ कार्तिक २०८३, शनिबार

विराटनगरमा भन्सार राजस्व छल्नेलाई कारबाही भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-money-taxइटहरी, ३० कात्तिक । भन्सार राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान कार्यालय इटहरीले रु १६ लाख जरिवाना गरेका भन्सार एजेन्ट गुलाव शाहलाई विराटनगर भन्सार कार्यालय, रानीले अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

भन्सार ऐनअनुसार राजस्व छलेको पाइएमा भन्सार एजेन्टको कारोबार रोक्का, स्पष्टीकरण तथा लाइसेन्स खारेज र जरिवाना हुने प्रावधान रहेपनि कुनै कारबाही नभएको त्यहाँका कर्मचारीहरुसमेत बताउँछन् ।

करिब तीन हप्ता अगाडि भन्सार एजेन्ट साहका छोरा मन्टु साहले भन्सार राजस्व छलेको विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले एक ट्रक सामान जफत गरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको थियो ।

प्लास्टिकका त्रिपाल तथा शौचालय सामग्रीसहित करिब रु २० लाख मूल्य बराबरको सामान रहेको एजेन्ट साहद्वारा आयातित ट्रकको छानबिन गर्दा भन्सार मूल्याङ्कनमा कमी भएपछि रु १६ लाख सात हजार जरिवाना गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख गौरीशङ्कर उपाध्यायले बताउनुभयो ।

उता विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले आफूहरुलाई पनि एजेन्ट साहको पक्राउ गरिएको सामान सम्बन्धमा जानकारी रहेको र राजस्व अनुसन्धान कार्यालयले के कस्तो आधारमा जरिवाना गरेको हो त्यो लिखित रुपमा आएमा कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

त्यस्तै, भन्सार एजेन्ट सञ्जीव भगतले राजस्व छलेको सम्बन्धमा पनि विराटनगर भन्सार कार्यालयले छानबिन गरिरहेको बुझिएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले पनि भगतका तीन ट्रक सामान जाँच गरी रु १० लाख जरिवाना गरेको थियो । रासस