काठमाडौं, २९ कात्तिक । फ्रान्सको राजधानी पेरिसको घातक आतंकवादी हमलापछि भारतले देशैभरी सुरक्षा व्यवस्था कडा पारेको छ ।
आफ्नो देशमा पनि हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै भारतले राजधानी दिल्ली र मुम्बईसहित देशका विभिन्न शहरहरुका प्रमुख प्रतिष्ठानहरुमा र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो । साथै चोकदेखि सहरसम्म पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको छ ।
सम्भावित आतंकवादी हमलालाई मध्यनजर गर्दै दिल्लीमा रहेको फ्रान्सेली राजदूतावास, सरकारी कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलमा समेत सुरक्षा व्यवस्था कडा पारिएको भारतीय च्यानल आजतकले लेखेको छ ।
दिल्लीमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, रेलवे स्टेशनहरु, मेट्रो नेटवर्क र बसपार्कसहित अन्य सम्वेदनशील स्थानमा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको हो । दिल्लीका प्रसिद्ध होटलहरु, शपिङ मल र बाजारहरुमा सतर्कता अपनाउन अपील गरिएको छ ।
दिल्लीका वरिष्ठ पुलिस अधिकारीले भनेका छन्- हामी २४ घण्टा अलर्ट छौं, कुनै पनि आपतकालीन स्थितीलाई रोक्नका लागि पर्याप्त कदम उठाइनेछ । उनका अनुसार दिल्ली पुलिसको विशेष प्रकोष्ठ र अपराध शाखालाई पनि अलर्ट राखिएको छ ।
पेरिस घटनापछि शनिबार राजधानी दिल्लीमा बसेको वरिष्ठ सुरक्षा अधिकारीहरुको बैठकले भारतमा पनि आईएसको सम्भावित आक्रमण हुनसक्ने भन्दै देशैभरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय लिएको थियो ।
महाराष्ट्र पुलिसका महानिर्देशक प्रवीण दीक्षितले सबै भीड़भाड हुने क्षेत्रमा हुन सक्ने अप्रिय घटनाका लागि सतर्कता अपनाइएको बताए । अधिकारीका अनुसार पेरिसको आतंकवादी हमलापछि भारतले देशैभरीका शरमा सुरक्षा व्यवस्था कडा बनाई सम्बन्धित अधिकारिलाई ज्यादा सतर्क रहन आदेश दिएको छ ।
शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलामा १२९ जनाको मृत्यु भएको थियो । आक्रमणपछि संकटकाल घोषणा गर्दै फ्रान्सले सीमा नाका सील गरेको छ ।
















प्रतिक्रिया