काठमाडौँ, २३ कात्तिक । नेपाल औषधि व्यवसायी सङ्घले अहिलेको असहज अवस्था कायमै रहे अबका केही दिनभित्रै राजधानीलगायत देशैभर औषधिको चरम अभाव हुने सङ्केत देखिएको जनाएको छ ।
सङ्घले आज एक विज्ञप्ति जारी गरी झन्डै तीन महिनादेखि तराई÷मधेसमा जारी आन्दोलन र डेढ महिनादेखिको अघोषित नाकाबन्दीले राजधानीलगायत देशभर अत्यावश्यक तथा जीवनरक्षक औषधिसमेत अभाव देखिएको जनाएको हो ।
औषधिको चरम अभाव सिर्जना हुँदासमेत सरोकारवालाको चासो पर्याप्त मात्रामा नदेखिएकामा सङ्घले आश्चर्य व्यक्त गरेको छ ।
व्यवसायीको एकल प्रयासले औषधि आपूर्ति, वितरण र उपलब्धतामा प्रभावकारी बनाउन कठिनाई भएको सङ्घको भनाइ छ । सरकारले औषधि वितरणका लागि बिक्रेतालाई इन्धन उपलब्ध नगराउँदा भण्डारण गरिएका औषधि स्वास्थ्य संस्थासम्म पुग्न नसकेका बताउँदै सङ्घले इन्धन वितरणमा सहजता अपनाउन पनि सम्बन्धित निकायमा अनुरोध गरेको छ ।
“मानव जीवनसँग प्रत्यक्ष जोडिएको औषधिजस्तो अत्यावश्यक एवम् संवेदनशील वस्तुको अभावमा रोगी, बिरामी र घाइतेको जीवनमाथि खेलवाड गर्न कदापि मिल्दैन । जीवनरक्षक औषधिसमेत कम हुँदै गएको अवस्थामा सरकार र आन्दोलनरत पक्षले आपूर्ति सहज बनाउन तथा मौज्दात ढुवानीको वातावरण बनाउन र आपूर्तिका अन्य विकल्पमा तत्कालै ठोस योजना बनाउने अग्रसरता लिन आग्रह गर्दछौँ”–सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रासस















प्रतिक्रिया