३० आश्विन २०८३, शुक्रबार

निर्वाचनमा नराम्रोसँग हारेपछि मोदीको चेत खुल्यो, यसरी अगाडि बढाउँदैछन् आफ्नो योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiनयाँदिल्ली, २३ कात्तिक । भारतका अर्थमन्त्रीले आफ्नो दलले हालै विहार प्रदेशको निर्वाचनमा नराम्रो पराजय भोगेपछि पनि आर्थिक सुधार अगाडि बढाउँदै लैजाने दृढता व्यक्त गर्नुभएको छ । यस पराजयपछि भारतमा निकै आवश्यक ठानिएको सुधार प्रक्रिया मन्द हुने आशङ्का बढेको थियो ।

भारतको सबैभन्दा ठूलो तथा गरिब प्रदेश विहारको प्रादेशिक संसदीय निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाइमा निर्वाचन अभियान सञ्चालन भए पनि सत्ताधारी भारतीय जनता पार्टीले नराम्रो हार ब्यहोरेको छ ।

गत वर्षको आमनिर्वाचनमा आफ्नो दललाई भारतमा ३० वर्षपछि सबैभन्दा ठूलो जनमत दिलाएपछि प्रधानमन्त्री मोदीलाई पराजित गर्नै नसकिने विजेताको रूपमा हेरिएको थियो भने विहारमा पराजयबाट त्यसमा ठूलो क्षति पुगेको विश्लेषकहरूले बताएका छन् ।

एक भएका प्रतिपक्षी दलहरू अब राष्ट्रिय संसदमा प्रधानमन्त्री मोदीको सरकारले अगाडि बढाएका आर्थिक सुधारका बचन पूरा गर्न नदिन अगाडि बढ्ने अनुमान गरिएको छ ।

बीजेपीको पराजयपछि भारतको शेयर बजार सोमबार बिहान २.३ प्रतिशतले घटेको थियो । अर्थमन्त्री अरुण जेट्लीले संसदको माथिल्लो सभामा आवश्यक सङ्ख्या नपुगे पनि लामो समयसम्म प्रतिरक्षा गरिएको बिक्री करसम्बन्धी प्रस्तावलाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले यस निर्वाचनलाई मोदी सरकारको १७ महिनाको शासनको जनमत सङ्ग्रहको रूपमा आफूले नहेरेको बताउनुभयो । उहाँले आफूहरू सबैले यसको दोष लिने बताउनुभयो ।

उहाँले यसले अर्थतन्त्रमा प्रभाव नपार्ने र संरचनागत सुधार निरन्तर रहने बताउनुभयो । उहाँले ईटी नाउ टीभी सञ्जाललाई उक्त कुरा बताउनुभएको हो । विहारको निर्वाचनमा क्षेत्रीय दलहरूको गठबन्धनले २४३ स्थानको सभामा १७८ स्थान प्राप्त गरेको छ भने भारतीय जनता पार्टीले ५३ स्थान ।

महिना दिनसम्म चलेको यस निर्वाचनलाई प्रधानमन्त्री मोदीले आफ्नो लोकप्रियताको परीक्षणको रूपमा हेर्नुभएको थियो । उहाँले यस अभियानमा ३० भन्दा बढी सभालाइ सम्बोधन गर्नुभयो र यस गरिब राज्यमा अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने बचन दिनुभयो ।

सेन्टर फर पलिसी रिसर्चका विश्लेषकहरूले हिन्दु समाचारपत्रमा नरेन्द्र मोदी सन् २०१४ मा शासन आउँदा देखिनु भएझै शक्तिशाली नरहनुभएको उल्लेख गरेका छन् ।

विश्लेषकहरूले विहारमा पराजित बीजेपी केन्द्रमा कमजोर भएको र उसले अगाडि बढाउने नीतिहरू पनि अब रोकिने वा त्यसमा सम्झौता हुने बताएका छन् । मोदीको एकल नेतृत्वमा धरमराउँदो अर्थतन्त्रमा सुधार गर्ने बचनका साथ भारतीय जनता पार्टीले आमनिर्वाचनमा विजय हासिल गरेको थियो ।

हाल भारतको आर्थिक वृद्धिदर सात प्रतिशतको हाराहारीमा छ । त्यसो त प्रधानमन्त्री मोदीले लगानी बढाउने गरी सुधार गर्न नसकेको र दशौँ लाख युवालाई रोजगारी दिन नसकेको भनी उहाँको आलोचना बढ्न थालेको छ ।

आउँदा अनेकौँ राज्यका निर्वाचनमा निरन्तर रूपमा विजय हासिल गरी माथिल्लो सभामा नियन्त्रण कायम गर्ने प्रधानमन्त्री मोदीको दीर्घकालिन लक्ष्यमा यस पराजयले क्षति पु¥याएको छ ।

भारतमा माथिल्लो सभाका स्थान प्रदेशमा दलहरूको राजनीतिक शक्तिको आधारमा विभाजित भएको छ । फेब्रुअरी महिनामा दिल्लीको निर्वाचनमा पराजय भएपछि बीजेपीको यो दोस्रो पराजय हो ।

प्रधानमन्त्री मोदी बेलायतमा आफ्नो समकक्षीसँग वार्ता गर्न र त्यहाँका भारतीय मूलका वासिन्दालाई विम्बली रङ्गशालामा सम्बोधन गर्न प्रस्थान गर्नुपूर्व यो नतिजा आएको हो । रासस/एएफपी