काठमाडौं, २३ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले दक्षिणपन्थीहरु मिलेर उत्तरको नाका खोल्न नदिने प्रयास भएको बताउनुभएको छ ।
नेपाल प्राध्यापक समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपालले भारतलाई दिँदै आएको बिजु्ली रोक्नुपर्ने सुझाव दिँदै अहिलेको अवस्थामा बङ्गलादेशबाट ग्यास ल्याउन सकिने र पाकिस्तानसँग बिजुली उत्पादनबारे सल्लाह गर्नुपर्ने धारणा राख्नुभयो ।
सांसद बिजुक्छेले भन्नुभयो-“भारतमा प्रगतिशील सरकार नआएसम्म नेपाललाई दुःख हुन्छ, दक्षिण एसियालाई एउटै सुरक्षा छातामा ल्याई आफैं कमान्डर इन चिफ बन्न भारत खोज्दैछ, त्यसको विरोध हुनुपर्छ ।” अध्यक्ष बिजुक्छेले नाकाबन्दीको विरुद्ध नेपाली जनताले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्नुपर्ने बताउँदै भारतको सामान कम प्रयोग गर्ने अभियान नेपालीले थाल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा त्रिवि शिक्षा सङ्कायका पूर्वडिन पृथुचरण वैद्य, नेपाल राजनीतिशास्त्री समाजका अध्यक्ष विजयबहादुर सिलवाल र उपाध्यक्ष प्रा डा इन्दु आचार्य, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सदस्य वेदराज ज्ञवाली, नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसार्इं, सचिव प्रकाश श्रेष्ठ, सदस्य कृष्णप्रसाद धन्छा र विश्वमोहन जोशीले भारतसँग आत्मनिर्भर बन्नुभन्दा त्यसको विकल्प खोज्नुपर्ने सुझाव दिनुभयो । रासस















प्रतिक्रिया