१२ कार्तिक २०८३, बिहिबार

पत्रकारलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरिनेछ : सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ser-dhan-rai-1काठमाडौँ, २३ कात्तिक । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले पत्रकारलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरिने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईमा आन्दोलनरत दलले सीमा नाकामा बसेर होइन देशको मूल जगमा बसेर जनतालाई पीडा नदिई समस्या समाधानमा लाग्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो–“यसका लागि बाटो खुला छ, आमनेसामने बसेर समस्या समाधान गरौँ । ”

संविधानका अपूरा कुरा पूरा गर्न संवैधानिक ढोका खुला भएकाले आन्दोलनरत पक्ष वार्ताबाट समस्या समाधानमा आउनुपर्नेमा उहाँले जोड दिनुभयो । “उच्चस्तरको कूटनीतिक पहलबाट वर्तमान समस्या समाधानका लागि सरकार लागिपरेको छ, संविधानको प्रभावकारी कार्यान्वयन भएपछि सबैको अधिकार सुनिश्चित हुने भएकाले त्यसमा अवरोध गरिनुहुन्न”– मन्त्री राईले भन्नुभयो ।

सञ्चार क्षेत्रका विषयमा विज्ञसँग परामर्श गरेर आग्रह नराखी काम गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयोे । “पत्रकारलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गरिनेछ, सञ्चार नीति कस्तो हुनुपर्छ भन्नेबारे श्रमजीवी पत्रकार ऐन, बिमा र पत्रकारिता क्षेत्रका विकृति विसङ्गतिका विषयमा पनि मसिनो गरी अध्ययन गरिरहेको छु, अध्ययन सकेपछि निर्णयमा पुग्छु”– उहाँले भन्नुभयो ।

संविधानमा भएका राम्रा कुरालाई सञ्चारमाध्यमले जस्ताको त्यस्तै जनतासमक्ष ल्याउनुर्नेमा मन्त्री राईले जोड दिनुभयो । नेपाली काँग्रेस संसद्को प्रमुख दल भएकाले राष्ट्रको मूल जगबाट बाहिरिनु नहुने उहाँको सुझाव थियो । देशको सार्वभौमिकतालाई अक्षुण्ण राख्ने जगमा सरकार उभिएकाले त्यसमा काँग्रेसको सहयोगको माग उहाँले गर्नुभयो ।

महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रका समस्या समाधान गर्न सरकारको सहयोगको माग गर्नुभएको थियो ।