याङ्गन, २३ कात्तिक । म्यानमारको सङ्घीय संसद तथा प्रतिनिधिसभाका वर्तमान सभामुख यु स्वे मानले आफू सत्ताधारी युनियन सोलिड्यारिटी एण्ड डिभलपमेन्ट पार्टी (युएसडीपी)बाट आइतबार भएको आमनिर्वाचनमा भाग लिएकोमा पराजित भएको सोमबार आफ्नो फेसबुकमा स्वीकार गर्नुभएको छ ।
यु स्वे मानलाई प्रतिपक्षी नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) का यु थान न्युन्टले बागो क्षेत्रको फ्यु निर्वाचन क्षेत्रमा पराजित गर्नुभएको दाबी गरिएको छ । यु स्वे मानले आफ्ना प्रतिद्वन्द्वीलाई बधाइ दिनुभएको छ ।
एनएलडीका अध्यक्ष आङ सान सु कीले यस निर्वाचनमा विजय हासिल गर्नुभएको छ । उहाँले आउँदो प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित राख्नुभएको एनएलडीका स्रोतले बताए ।
सु कीले याङ्गनको कावमु निर्वाचन क्षेत्रमा युएसडीपीका यु क्याव हेइनलाई पराजित गर्नुभएको बताइएको छ ।
आदिवासी आराकान नेसनल पार्टी (एएनपी) का अध्यक्ष डा. ऐ माउले सिन्हवालाई दिएको अन्तर्वार्तामा आफूले राखाइनको मानाउङ निर्वाचन क्षेत्रबाट पराजय भोग्नुपरेको बताउनुभएको छ । उहाँले आफ्नो पार्टीको अवस्था भने अझै राम्रो भएको बताउनुभयो ।
म्यानमारको सङ्घीय निर्वाचन आयोगले सोमबार निर्वाचनको नतिजा औपचारिक रूपमा घोषणा गर्ने अनुमान गरिएको छ ।
म्यानमारको सत्ताधारी दल तथा वर्तमान मनिपरिषद्का धेरै सदस्यहरूले आइतबारको निर्वाचनमा पराजय भोगेको स्थानीय आमसञ्चारले जनाएका छन् । उनीहरूले एनएलडीले निर्वाचनमा विजय हासिल गरिरहेको बताएका छन् ।
युएसडीपीले यस निर्वाचनमा एक हजार १२२ उम्मेदवार उठाएको थियो भने एनएलडीले एक हजार १२३ उम्मेदवार उठाएको थियो ।
यस निर्वाचनमा ९१ राजनीतिक दलका छ हजार ३८ तथा ३१० स्वतन्त्र उम्मेदवार मैदानमा छन् । उनीहरूले तीन तहको संसदका एक हजार भन्दा बढी पदमा प्रतिस्पर्धा गरेका छन् ।
सङ्घीय निर्वाचन आयोगले मुलुकभरका तीन तहको संसदका लागि एक हजार १५० निर्वाचन क्षेत्र निर्धारण गरेको छ ।
यी मध्ये ३२३ निर्वाचन क्षेत्र प्रतिनिधिसभाका लागि कामय भएको छ भने १६८ निर्वाचन क्षेत्र जनजातिसभाका लागि कायम भएको छ । ६३० स्थान क्षेत्रीय वा प्रादेशिक संसदका लागि निर्धारण भएको छ भने २९ निर्वाचन क्षेत्र आदिवासी प्रधिनिधिका लागि छुट्याइएको छ ।
यसै गरी युएसडीपी पार्टीका नयाँ अध्यक्ष यु एचटे उ आइतबारको आमनिर्वाचनमा पराजित हुनुभएको उहाँको कार्यालयले सोमबार पुष्टि गरेको छ ।
उहाँ हाल सांसद हुनुहुन्छ र उहाँ एनएलडीका यु खिन माउङ यीबाट पराजित हुनुभएको बताइएको छ । उहाँ ऐऐवाडी क्षेत्रको हिन्थाडा नगर निर्वाचन क्षेत्रमा उम्मेदवार हुनुभएको थियो । रासस/सिन्हवा















प्रतिक्रिया