६ कार्तिक २०८३, शुक्रबार

बिहारमा पराजित भएपछि मोदीमाथि आक्रमण !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modiकाठमाडौं । नेपालको संविधान जारी हुने साइतको मुखैमा काठमाडौं उत्रिएका भारतका विदेश सचिव एस. जयशंकरले राजनीतिक दलका नेताहरूलाई भनेका थिए– बिहारको चुनावका कारण प्रधानमन्त्री नरेन्द्र मोदी पनि दबाबमा हुनुहुन्छ, तपार्इंहरूले यो कुरा बुझिदिनुपर्‍यो। उनको आग्रह संविधान जारी गर्ने काम केही दिन रोकियोस् भन्ने थियो।

उच्च स्रोतहरूका अनुसार नेपालतर्फ नाता–सम्बन्ध र सम्पर्कमा रहेका बिहारका केही भाजपा (भारतीय जनता पार्टी) नेता–कार्यकर्ताले काठमाडौंलाई दबाब दिन मोदी तहसम्म ‘लबिङ’ गरेका थिए। तत्पश्चात् दबाबमूलक सन्देश लिएर जयशंकर गएका थिए। ‘संविधानको प्रक्रिया तत्काल रोक्न र मधेसीरथारू समुदायसहितको अधिकतम सहमति पहिल्याउन’ आग्रह गरेर उनी दिल्ली फर्केको दुई दिन (सेप्टेम्बर २०) मै नेपालको संविधान जारी भयो। संविधान जारी भएको ऐतिहासिक घटनामा भारतले ‘नोट’ गर्दै सेप्टेम्बर २१ बाटै ‘अघोषित’ नाकाबन्दीको रणनीति अँगालिहाल्यो।

यो रणनीतिका बीच काठमाडौंबाट विभिन्न राजनीतिक दलका दूतहरू, आपूर्तिमन्त्री, दिल्लीस्थित राजदूतसहितले नाकाबन्दी खुलाउने अनेक प्रयत्न गरिरहे। तर, जवाफ एउटै रह्यो– बिहार चुनावका कारण सबै संयन्त्रको ध्यान उतै केन्द्रित छ, प्रधानमन्त्री र गृहमन्त्रीसमेत बिहार केन्द्रित हुनुहुन्छ।

नेपालसँगको खुला सिमाना (झन्डै १७ सय किमिमध्ये) मध्ये सबैभन्दा लामो अनुपात (झन्डै ७ सय किलोमिटर) मा बिहारसँग जोडिएका कारण राज्यको चुनावमा सीमावर्ती सुरक्षा र अनधिकृत आवागमनको सरोकार रहनु स्वाभाविक हो। त्यसमा पनि बिहारसँग जोगबनी (विराटनगर) र रक्सौल (वीरगन्ज) जस्ता प्रमुख व्यापारिक नाकाहरू जोडिएका कारण पनि राज्य चुनावमा सीमा सुरक्षाको ‘बहाना’ दिल्लीसँग रहेकै थियो।

‘कुनै राजनीतिक कारणले आर्थिक नाकाबन्दी गरिएको भन्ने बहाना तर्कसंगत हुँदैन,’ भारतका लागि एकजना पूर्वराजदूतले फोनमा भने, ‘बिहारको चुनाव अथवा सीमा सुरक्षाका कारण भनेकै हो भने अब दिल्लीको व्यवहारमा बदलाव देखिनुपर्छ।’ अर्कातिर, शासनसत्ता रहेको प्रमुख घटक भारतीय जनता पार्टीसहितको गठबन्धनले बिहार चुनावमा नसोचेको पराजय बेहोरेपछि केन्द्र सरकारको हरेकजसो कार्यशैलीको ‘अतिवाद’ माथि प्रश्न उठ्न थालेको अवस्था पनि विचारणीय छ। जनता दल युनाइटेड, राष्ट्रिय जनता दल र भारतीय कांग्रेसको ‘महागठबन्धन’ ले बिहार विधानसभाका २ सय ४३ सिटमध्ये १ सय ७९ सिटमा विजय हासिल गरेर स्थानीय प्रभाव र पहिचानको राजनीतिलाई फेरि मूलधारमा ल्याउने काम गरेको छ। चुनावमा भाजपा गठबन्धनले ५८ सिटमा मात्रै विजय हासिल गरेको छ।

प्याज वा दालको मूल्य बढेमा सरकारको सन्तुलन बिग्रने भारतीय पद्धतिमा निकटस्थ छिमेक नेपालमाथि ‘राजनीतिक बहाना’मा लगाइएको नाकाबन्दीको प्रभाव भने सकारात्मकभन्दा नकारात्मक रूपमा बढदो छ। ‘हिजोसम्म मोदीका नाममा अति प्रशंसा चलिरह्यो, आज हाम्रो छिमेक नेपालमा उनै मोदीले नाकाबन्दी गरिरहेको अवस्था छ,’ बिहार चुनावको र्‍यालीमाझ वैशालीको राजधानी हाजिपुर पुगेर बिहारका मुख्यमन्त्री नीतीश कुमारले दुई साताअघि बोलेका थिए। अहिले बिहारमा उनीसहितको महागठबन्धनले दुई तिहाइ बहुमत सहितको चुनावी नतिजा ल्याएपछि राज्य तहको संयन्त्रबाट पनि सहज ढुवानीरपारबहनका लागि अपेक्षा गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू पनि यही अपेक्षामा आइतबार दिउँसोदेखि बिहारका मुख्यमन्त्री नीतीश कुमारदेखि गठबन्धन पक्षीय राष्ट्रिय जनता दलका प्रमुख नेता लालुप्रसाद यादवसम्मलाई बधाई ज्ञापन गर्नमा तल्लीन देखिन्थे। कान्तिपुर दैनिकमा खबर छ ।