काठमाडौं, २१ कात्तिक । सप्तरी हरिपुरका श्रीप्रसाद विश्वकर्मा खाना पकाउने ग्यास पाउने आसमा सात दिनदेखि लाममा बसेका छन् ।
फर्निचर कारखानामा दैनिक ज्यालादारीमा काम गरेर जीवन निर्वाह गर्ने उनले एक सातादेखि एक रुपैयाँ आम्दानी गर्न नपाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
टेकु डेरा भएका उनी भानु ग्यासको सामाखुसीस्थित डिपोबाट ग्यास बाँड्ने जानकारी पाएकाले एक सातादेखि डेरामा नगई बसेका हुन् ।
‘सिलिन्डर छाड्दा हराउन सक्ने भएकाले डेरामा जान पाएको छैन । गत बिहीबार लाइनबाट तीनचारवटा सिलिन्डर हरायो रे’, उनी भन्छन्, ‘दिनहुँ एक छाकमात्र खाएर लाइनमा बसेको छ’, दुई छाक खाने पैसा छैन ।
रातभर सडकको चिसोले रुघाखोकी लाग्न थालेको छ, ज्यान पनि दुःखेको छ, उनले भने, ‘डेरामा श्रीमती र दुई छोरी छन् । जेठी छोरीको गत वर्ष लडेर खट्टा भाँच्चिएको छ । सानी छोरी नौ कक्षामा पढ्छिन् । इन्धन नहुँदा खान पाएका छैनन्।’
ग्याससँगै काम गर्न नपाएकाले गासबाससमेत खोसिएको भन्दै उनी बिलौना गर्छन् ।
बानियाँटारमा बस्ने सोलुखुम्बुकी गोर्मा शेर्पा पनि श्रीप्रसादजस्तै ग्यास पाइने आसमा पाँच दिनदेखि रित्तो सिलिन्डर लिएर लाइनमा बसेकी छन् ।
दमको रोगी उनी रातमा दुई छोरालाई लाइनमा राख्छिन् तर दिनभर भने आफैं ग्यास आइहाल्छ कि भनेर लाइन नछोडी कुरिरहन्छिन्।
ज्यामी काम गर्ने उनको पनि पाँच दिनदेखि दैनिक आम्दानी खोसिएको छ। सोमबारदेखि लाइनमा बसेकी उनले बुधबार कम्पनीले ग्यास बाँडे पनि पाउन सकिनन्।
‘पाँच सयजनालाई आधा सिलिन्डर बाँडियो तर मेरो पालो आएन। फेरि आउने आसमा बसेकी छु तर थाहा छैन कहिले आउँछ’, उनले भनिन् । श्रीप्रसाद र गोमा प्रतिनिधि पात्रमत्र हुन् ।















प्रतिक्रिया