वासिङटन, २० कात्तिक । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले हालै इजिप्टमा दुर्घटनाग्रस्त भएको रसियाली विमानमा बम राखेको हुनसक्ने अनुमान गरिएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, मलाई लाग्छ सो विमानमा बम राखेको हुनसक्छ र जसका कारण मात्र त्यसरी आकासमै बिस्फोट भएको हुनुपर्छ । अमेरिकाको एक रेडियोसँग उहाँले गर्नुभएको कुराकानीलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन सिएनएनले जनाएअनुसार राष्ट्रपति ओबामाले त्यहाँ बम राखेको अनुमान गरी सो घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।
हाम्रो गुप्तचर संस्थाका साथै अन्य अनुसन्धान गर्ने निकायले अनुसन्धान जारी राखेको र त्यस घटनाको सत्यतथ्य कुरा छिट्टै बाहिर आउने उहाँले जानकारी दिनुभयो । राष्ट्रपति ओबामाले भन्नुभयो, हामीले आफ्नो तर्फबाट अनुसन्धान जारी राखेका छौँ र सो सत्य बाहिर आउनु अगावै अहिले नै ग्यारेन्टी नगरेको मात्र हो तर सो जहाजमा बम राखेको अनुमान धेरै हदसम्म सत्य हो ।
ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेटले केही दिनमात्र अघि पनि सो विमानमा बम राखिएको हुनसक्छ भन्ने अनुमानको विरोध अहिले नै गर्न नसकिने बताउनुभएको थियो । तर उहाँले यस विषयको अमेरिकी अनुुसन्धान पूरा भने भइनसकेको पनि सो भनाईमा स्पष्ट गर्नुभएको थियो ।

यस विषयमा अमेरिकाले पनि स्वतन्त्र रुपमा अनुसन्धान जारी राखेको समाचारको राष्ट्रपति ओबामाले नै पुष्टि गर्नुभएको छ । उहाँले अमेरिकाले अनुसन्धान जारी राखेकोले केही दिनमै के कति कारणले सो विमान दुर्घटनामा परेकोे हो भन्ने तथ्य बाहिर आउने धारणा राख्नुभएको थियो ।
गत हप्तामात्र इजिप्टको सिनाइमा भएको विमान दुर्घटनामा परी २२४ जना नागरिकको ज्यान गएको थियो । सो विमान रसियाली विमान थियो । मारिनेमा लगभग सबैजसो नै रसियाली नागरिक रहेका थिए ।
सिनाइ इजिप्टको द्धन्द्धग्रस्त क्षेत्र हो । त्यहाँ विद्रोहीहरुको प्रभाव रहेको मानिन्छ । सो विमान खसेपछि नै मुस्लिम अतिवादी संस्था आइएसले नै त्यसको जिम्मेवारी लिएको थियो । उक्त संस्थाले सो विमान खसालेको भनी दाबी नै गरेको थियो । तर उसको सो दाबीलाई इजिप्ट सरकारले भने अस्वीकार गरेको छ ।
इजिप्ट सरकारले उक्त भनाईमा कुनै सत्यता नरहेको बताएको छ । बम हानेर विमान खसाल्ने भन्ने कुरा असम्भव रहेको इजिप्ट सरकारको भनाई छ । रासस/सिन्ह्वा















प्रतिक्रिया