मुस्ताङ, १९ कार्तिक । नेपाल बैंक लिमिटेड जोमसोम शाखाले हिन्दुहरुको महान् पर्व दशैंको अवसरमा १ करोड भन्दा बढिको खुद्रा नयाँ नोटको कारोबार गरेको छ ।
दशैंमा खुद्रा नोटको अत्याधिक माग हुने भएकाले बैंकले नोटको सटही गरेको हो । बैंकले एकसयको नोट ७१ लाख, पचासको नोट ३७ लाख, बीसको नोट १० लाख ४० हजार, दशको नोट ५ लाख चालिस हजार र पाँचको नोट १ लाख ७० हजार गरी १ करोड २५ लाख ५० हजार रुपैयाँको खुद्रा तथा नयाँ नोट सटही गरेको नेपाल बैंक लिमिटेड जोमसोमका शाखा प्रबन्धक गणेश विश्वकर्माले जानकारी दिए ।
पोखरा, बागलुङ, बेनी, कुस्मामा नयाँ नोट वितरण गर्न नसकेको अवस्थामा नेपाल बैंक लिमिटेड जोमसोम शाखाबाट ग्राहकको माग भए अनुसारको खुद्रा नयाँ नोट वितरण र सटही गरेको शाखा प्रबन्धक विश्वकर्माले बताए ।
मुस्ताङमा बौद्धमार्गी अर्थात बौद्ध धर्मालम्बीहरुको बाहुल्यता भएकोले यहाँका स्थानियलाई दशैंमा खुद्रा नयाँ नोटको आवश्यकता नहुँने हँुदा अधिकांश बाहिरी जिल्लाबाट आएका यस जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने कर्मचारी तथा मजदुरहरुले खुद्रा नोट सटही गरी लगेको बताईएको छ ।
हिन्दुहरुले दशैंमा आफन्तजनहरुलाई टिका लगाउदा दक्षिणाको रुपमा केहि पैसा दिने प्रचलन रहेकोले पनि दशैंको अवसरमा बजारमा खुद्रा नयाँ नोटको अत्याधिक माग हुने गरेको छ ।
– केशव विश्वकर्माबाट















प्रतिक्रिया