गजुरी (धादिङ), १६ असार । पृथ्वी लोकमार्गअन्तर्गत नौबिसे नागढुंगा सडकखण्डको पिपलमोडमा आइतबार राति एउटा यस्तो दुर्घटना भयो, जसले यात्रु वा वटुवा होइन, घरभित्र मस्त सुतिरहेका मानिसको ज्यान लियो ।
आइतबार राति थानकोटबाट नौबिसेतर्फ हिँडेको बा२ख ३९९२ नम्बरको ट्रिपर अर्को एक गाडीलाई ओभरटेक गर्न लाग्दा घरभित्र पसेर पिपलमोड निवासी ७० वर्षीय बलराम बोहोरा र मैयाँ बोहराको ज्यान लिएको हो । घटनास्थलमै ज्यान गुमाएका उनीहरु श्रीमान् श्रीमती हुन् । दुवै जनाको शव टाउको किचिएको अवस्थामा बिहान मात्रै निकालिएको थियो । प्रहरीका अनुसार तीव्र गतिमा आएको ट्रिपर गाडीलाई ओभरटेक गर्न लाग्दा अनियन्त्रित भई सडक छेउमा रहेको घरमा जोतिन गएको थियो । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बालुवा र ढुङ्गा गिट्टी ढुवानीका लागि दैनिक ३०० को हाराहारीमा ट्रिपर धादिङ र काठमाडाँैबीच ओहोरदोहोर गर्ने गर्छन् । रातिको समयमा सामान बोकेर गुड्ने ट्रिपरहरु तीव्र गतिमा हाँक्ने र अन्य सवारीलाई जथाभावी उछिन्ने क्रममा पटकपटक दुर्घटना हुँदै आएको छ ।
आइतबारराति बोहोराको घरभित्रै छिरेको ट्रिपरले पनि अर्काे सवारीलाई उछिन्ने क्रममा अनियन्त्रित भएको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।














प्रतिक्रिया