काठमाडौं, १६ कात्तिक । मधेसी मोर्चा र भारतीय नाकाबन्दीका कारण मुलुकभरिका सर्वसाधारणले सास्ती भोग्नु परिरहेका बेला नेपाल आयल निगमले यही साता तीन दिन निजी सवारी साधनलाई पेट्रोल दिने जनाएको छ ।
आयल निगमको व्यवस्थापन समितिको सोमबार बसेको बैठकले निजी क्षेत्रलाई पेट्रोल दिने निर्णय गरेको हो । तिहारलाई लक्षित गर्दै तीन दिन पेट्रोल वितरण गर्न लागिएको निगमले जनाएको छ ।
उपत्यकामा बिहीबार, शुक्रवार र शनिबार तीन दिन निजी पेट्रोल पम्पमार्फत तेल दिइने निगमका निमित्त निर्देशक मुकुन्दप्रसाद घिमिरेले बताउनुभयो । घिमिरेले उपत्यकाका ५० निजी पम्पमार्फत पेट्रोल वितरण गर्ने आन्तरिक तयारी गरेको बताउनु भयो ।
चीनबाट झन्डै १३ लाख लिटर पेट्रोल आउन लागेको र निजी सवारी साधनले तेल नपाएर असन्तुष्टी बढेपछि निगमले यो निर्णय गरेको हो ।
दसैं अघिको जसरी सवारी धनीले यसपटक अव्यवस्थित लाइन बस्नु पर्ने छैन । निगमले सवारी साधनको लट अनुसार पेट्रोल वितरण गर्ने निर्णय गरेको छ ।
घिमिरेले १ देखि ३० लटसम्मका निजी सवारी साधनलाई बिहीबार १९ गते , ३० देखि ५० लटलाई शुक्रवार २० गते र ५० देखि बाँकी सबै लटलाई शनिबार २१ गते पेट्रोल वितरण गरिनेछ । यो व्यवस्था निजी दुई पाँङ्ग्रे र चार पाँङ्ग्रेमा लागू हुनेछ ।















प्रतिक्रिया