१ कार्तिक २०८३, शनिबार

मुस्ताङमा आन्तरिक पर्यटक खचाखच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang (1)मुस्ताङ, १५ कात्तिक । विदेशी पर्यटकको गन्तव्यस्थल बन्दै आएको मुस्ताङमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ ।

गत वैशाखमा गएको भूकम्प र देशमा जारी आन्दोलनले जिल्लामा विदेशी पर्यटकको चाप घटेको छ । तर आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक भएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् ।

बिदाको याममा हवाई र स्थलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले बताउनुभयो । “जिल्लाको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको भरमा चलेको छ” उहाँले भन्नुभयो ।

पछिल्लो दुई वर्षयता आन्तरिक पर्यटकले नै होटल व्यवसाय धानेको उहाँको भनाइ छ । “नेपालीमा पनि घुम्न र रमाउने संस्कृतिको विकास हुँदै गएको छ” अध्यक्ष तुलाचानले भन्नुभयो । दसैँ र तिहारको याममा सरकारी कर्मचारी, विद्यार्थी, शिक्षकशिक्षिका र समूहमा घुम्न आउने आन्तरिक पर्यटक बढी देखिएका छन् ।

मुक्तिनाथ मन्दिर, कागबेनी, अनौठो भू–बनोट, तिब्बती कला सँस्कृति र प्राकृतिक सुन्दरता नै जिल्लामा आकर्षणको केन्द्र विन्दु हुन् । पछिल्लो समय आन्तरिक पर्यटक साईकलमार्फत जिल्ला घुम्न आउने क्रम बढेको होटल व्यवसायी एकेन्द्र थकालीले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार, सन् २०१४ मा एक लाख विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । रासस